फागुन २७–२८ ठुटेबरमा वडास्तरीय भलिबल गरिँदै
Published:
by .बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ ठुटेबरमा वडास्तरिय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
वडा खेलकुद विकास समितिको आयोजनामा ठुटेबरको प्राङ्गणमा यही फाल्गुन २७ गते र २८ गते उक्त प्रतियोगिता हुने जनाइएको छ ।
वडामा रहेका भलिबल खेलप्रेमीहरुको प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष खगेन्द्र पौडेलले बताएका छन् ।
पछिल्लो समय फुटबल तथा क्रिकेटका प्रतियोगिताहरु धेरै हुने गरेको तर राष्ट्रिय खेल भलिबल लोप हुने अवस्थामा पुगेकाले भलिबलको संरक्षण र संर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
बुद्धशान्ति गाउँपालिका भित्र बसोबास भएका खेलाडीहरुले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले प्रष्ट पारेका छन् । उनका अनुसार एक वडाको खेलाडीले अर्को वडाको टिमबाट खेल्न पाउने छैनन् ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितिय पुरस्कार नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको समितिका सदस्य गणेश आचार्यले जानकारी दिए ।
प्रतियोगिताकै दौरान वडा नं. ६ का पूर्व खेलाडीहरु ७ जनालाई खेल जगतमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिने छ । सम्मनित हुने खेलाडीहरुमा घनश्याम भट्टराई, प्रेमप्रसाद ढकाल, लिला आचार्य, टंकबहादुर राई, हर्कबहादुर राई, कुलबहादुर लिम्बू र कुलबहादुर तामाङ रहेका गणेश आचार्यले जानकारी दिए ।
प्रतियोगितामा पालिकाभित्रका ७ वटै वडा र आयोजकको तर्फबाट एक टिम गरी ८ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालन गर्न वडाले १ लाख र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद समितिले ५० हजार दिएको सचिव खुरहरि ढकालले जानकारी दिएका छन् ।
प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेलले संयुक्तरुपमा गर्ने कार्यतालिका बनाइएको आयोजक समितिले जनाएको छ ।
Comments