Sajhamanch Archive

झापा गोल्डकप २०७८ः सेमीफाइनलमा पुग्यो संकटा क्लब

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औँ मिनेटमा डिबक्स भित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६३औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

थ्री स्टारले सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए । खेलको ३६औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भइरहेको आजको खेलको ४६औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डी–एरियाबाट गरेको प्रहार विपक्षी गोल रक्षकले बचाउ गरे । खेलको ७०औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोल रक्षकले सहजै नियन्त्रणमा लिए ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।

त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।

बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जीलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *