एनएमसीको २९औं स्थापना दिवस समारोह ५१ ठाउँमा सम्पन्न
Published:
by .झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्नो २९औं स्थापना दिवस कार्यक्षेत्र भित्रका ५१ स्थानमा एकैपटक मनाएको छ ।
२०५० साल फागुन २४ गते संस्था दर्ता भई कारोबार सुरु गरेको एनएमसीले झापा, इलाम र मोरङमा रहेका ४८ वटा वित्तीय कारोबार गर्ने सेवा केन्द्र कार्यालय र तीनवटा व्यवसायिक प्रतिष्ठानमा फागुन २४ गते मंगलबार एकसाथ स्थापना दिवस मनाएको हो ।
एनएमसीमा वित्तीय कारोबार गर्ने सेवा केन्द्र ४८ वटा रहेका छन् भने एनएमसी डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म र एनएमसी चिया उद्योगमा गरी ५१ स्थानमा मंगलबार एकै समयमा एउटै शैलीको कार्यक्रम गरिएको हो ।
स्थापना दिवसका अवसरमा संस्थाको समग्र अवस्थाका बारेमा केन्द्रीय प्रतिनिधिहरुले चर्चा गरेका थिए भने सहभागी अधिकांशले आफू एनएमसीमा आवद्ध भएदेखि हालसम्म संगालेको अनुभवहरु साटासाट गरेका थिए ।
कतिपय कार्यालयहरुमा मन्तब्यका साथै सदस्य तथा कर्मचारीहरुले गीत, गजल, कविता, नृत्य आदि प्रस्तुत गरेर समारोहलाई थप रोचक बनाएका थिए ।
वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधित्व गर्ने केन्द्रीय प्रतिनिधिहरुले संस्थाको कार्यक्षेत्र विस्तारका बारेमा जानकारी दिँदै तीनवटा जिल्लाका छिमेकी पालिकाहरुमा क्रमशः कार्यालय थप्दै लैजाने नीति रहेको जनाएका थिए ।
संस्थामा अहिले एक लाख २० हजारभन्दा बढी शेयर सदस्य पुर्याइएको तथा एक अर्ब २८ करोड रुपैयाँ शेयर पुँजी रहेको जनाउँदै सबै कार्यक्रमका केन्द्रीय प्रतिनिधिहरुले चालू आर्थिक वर्षको बितेको ७ महिनामा १४ करोड रुपैयाँभन्दा माथि मुनाफा गरिएको जानकारी गराए ।
स्थापनाकालदेखि लगातार नाफामा रहेको एनएमसीले सदस्यहरुमाझ १० अर्ब ५० करोड रुपैयाँ लगानी गरेको जनाइएको छ ।
संस्थाले अवलम्बन गरेको असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्न नमस्ते अभियान, सामाजिक योगदानमा मेरो एक रुपैयाँ, मानिसको जन्मदेखि मृत्युसम्मका हरेक कर्ममा संस्थाका साथ र सहयोग पुर्याउँदै आएको छ ।
वित्तीय बजारमा विद्यमान तरलता संकटका कारण कर्जा लगानीमा असहजता भइरहे पनि यो लामो अवधि नजानेमा केन्द्रीय प्रतिनिधिहरु ढुक्क थिए । संस्थाले निक्षेप कारोबारमा कुनै अप्ठ्यारो आउन नदिन कर्जामा केही संकुचन गरिएको उनीहरुको भनाई छ ।
एनएमसीले विगत ६ वर्षदेखि आफ्नै उद्योगबाट दूध तथा दूधजन्य पदार्थहरु प्रशोधन गरी बिक्री गर्दै आएको छ । दैनिक १५ हजार लिटर कच्चा दूध संकलन गरी दूधजन्य बस्तुहरु उत्पादन गर्न थालेको ५ वर्षपछि गतसालमा डेरी उद्योग नाफामा गएको जनाइएको छ ।
एनएमसीले नमूना कषि फार्म, सहकारी पसल र चिया उद्योग आदि गैर वित्तीय कारोबार गरेर सदस्यमाझ गुणस्तरीय उपभोग्य वस्तुहरु प्रदान गरिरहेको छ ।
Comments