Sajhamanch Archive

‘सहकारी क्षेत्रमा गरिने लगानी अब डुब्दैन, डुब्न दिइने छैन’ : प्रदेशसभा सांसद कार्की

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । एक नम्बर प्रदेशसभाका सांसद एकराज कार्कीले मुलुकभरका ७६१ वटा सरकारलाई सहकारी ऐन बनाउने अधिकार भए पनि तीनवटै तहका सरकारबीच समन्वय गरेर एकापसमा नबाझिने किसिमको ऐन बनाउनु पर्नेमा जोड दिएका छन् ।

बिर्तामोड नगरपालिका ३ सैनिकमोडमा मुख्य कार्यालय रहेको बिराट बहुउद्देश्यीय सहकारी संस्थाको आज आयोजित १३औं वार्षिक साधारणसभा तथा विराट सहकारी भवनको शिलान्यास पछि मन्तब्य राख्दै उनले यस्तो बताएका हुन् ।

जुनसुकै क्षेत्रका लागि कानून बनाउँदा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेर उनीहरुकै समन्वयमा नीति निर्माण गर्न सकेमा सबैको अपनत्व रहने भएकाले प्रदेश सरकारले बनाउने सहकारी ऐनमा यस्तो सहकार्य गरिने सांसद कार्कीले विश्वास पनि दिलाए ।

‘सहकारी क्षेत्रमा गरिने लगानी अब डुब्दैन, डुब्न दिइने छैन’ कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभाका सांसद कार्कीले भने ‘तर सहकारीले वित्तीय कारोबारलाई मात्र प्राथमिकता नदिई उत्पादनका क्षेत्रमा लगानी पनि बढाउनु पर्नेछ ।’

साधारणसभामा उद्घाटन मन्तब्य राख्दै झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गणेश ढकालले सहकारी, निजी र एनजिओलाई सही अर्थमा नबुझिदिँदा विरोधाभाष उत्पन्न गरेको औंल्याए ।

सहकारीले समाजलाई पनि सँगसँगै जागरुक र जिम्मेवार बनाएर वित्तीय कारोबार गरिरहेकाले सामाजिक रुपान्तरणका लागि यो अभियान उत्कृष्ट मोडल बनिरहेको अध्यक्ष ढकालले प्रष्ट पारे ।

यसैगरी बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले विराट बहुउद्देश्यीय सहकारी संस्थालाई वडा नं. ३ कै एकमात्र र उत्कृष्ट सहकारी बनाउन सुझाब दिँदै कृषि परियोजना सञ्चालन गरेर सहकारी उँभो लाग्ने सुझाब दिए ।

आज शिलान्यास गरिएको भवन केहीवर्षका लागि ठिकै देखिएला तर यसको क्षेत्रफल ठूलो बनाएर कृषि उपजको बिक्री वितरण स्थल बनाउन सकिने भए नगरपालिकाबाट पनि आवश्यक सहयोग उपलब्ध गराउन सकिने नगरप्रमुख शिवाकोटीले बचन दिए ।

साधारणसभाको उद्घाटन समारोहमा नगर उपप्रमुख पवित्रा महतारा प्रसाई, वडा नं. ३ का अध्यक्ष भोजराज सिटौला र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सचिव रुद्र सिटौलाले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित सदस्य तथा पाहुनाहरुलाई उपाध्यक्ष पर्शुराम सिटौलाले शब्दद्वारा स्वागत गरेका थिए ।

यस्तै बाल कलाकार प्रतिक ढकालले राष्ट्रियता झल्कने गीत गाएर सहभागीको स्वागत जनाएका थिए ।

सम्मान र पुरस्कार प्रदान

साधारणसभाको उद्घाटन समारोहमा संस्थाका वर्ष उत्कृष्ट कर्मचारीको रुपमा गीता दहाललाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

यसैगरी पत्रकारिताको माध्यमबाट सहकारी अभियानलाई प्रवद्र्धन गरेकोमा साझामञ्च डट कम अनलाइन डिजिटल न्यूजपोर्टलका सम्पादक गोपाल काफ्लेलाई नगद ५ हजार पाँच रुपैयाँले पुरस्कृत गर्दै सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कार्कीले पत्रकार काफ्लेलाई पुरस्कार रकम र सम्मानपत्र प्रदान गरेका हुन् ।

संस्थाले विगत वर्षहरुमा झै यसवर्ष पनि बचत तथा कर्जा फाँटका उत्कृष्ट कारोबारी दुईजना सदस्यलाई पाँच हजार एक रुपैयाँ प्रदान गरी सम्मान गरेको छ ।

यसैगरी, गत एसईई परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी भई उत्कृष्ट अंक प्राप्त गर्ने दुई–दुई जना छात्र–छात्रालाई जनही ५ हजार एक रुपैयाँ प्रदान गरी प्रोत्साहन गरिएको छ ।

संस्थाले यसै वर्षबाट शुरु गरेको सुत्केरी पोषणभत्ता वितरण कार्यको पनि आज एकजना महिलालाई प्रदान गरेर सुरुवात गरिएको छ ।

भवन शिलान्यास

संस्थाले यसैवर्ष आफ्नो कार्यालय नजिकै सैनिकमोडमा एक करोड ३३ लाख रुपैयाँमा खरिद गरेको एक कट्ठा जमिनमा निर्माण गरिने बहुउद्देश्यीय भवनको आजै शिलान्यास गरिएको छ ।

प्रदेशसभा सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका अध्यक्ष मोहन शिवाकोटी, संस्थाका सल्लाहकार संयोजक उमानाथ ओलीलगायतले संयुक्तरुपमा उक्त बहुउद्देश्यीय भवनको शिलान्यास गरेका हुन् ।

पाँचतले हुनेगरी डिजाइन गरिएको उक्त बहुउद्देश्यीय भवनको चालू आर्थिक वर्षमा ३ तला पूरा गर्ने लक्ष्य रहेको संस्थाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौलाले बताएका छन् ।

सो भवनको भूइँतलामा प्राङ्गारिक तरकारी पसल, खाद्य बस्तुहरुको सुपथ मूल्य पसल सञ्चालन गरिने, दोस्रो तलामा संस्थाको वित्तीय कारोबार स्थलसहित मुख्य कार्यालय रहने र तेस्रो तलामा सहकारी सिकाई केन्द्रसहितको तालिम हल बनाउने गरी भवन निर्माणको खाका निर्धारण गरिएको उपाध्यक्ष सिटौलाले बताए ।

संस्थाका अध्यक्ष शिवाकोटीद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतः

विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चालू वर्षदेखि सामाजिक सेवा तथा सदस्यको सुविधामा बृद्धि गर्ने प्रस्तावसहितको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेका छन् ।

बिहीबार आयोजना गरिएको संस्थाको १३औं वार्षिक साधारणसभामा अध्यक्ष मोहन शिवाकोटीले सहकारीले पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर अघि बढेको बताउँदै चालू वर्षदेखि नै कार्यान्वयनमा ल्याइने केही नयाँ योजनाहरु सार्वजनिक गरे ।

साधारणसभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन बाचन गर्दै अध्यक्ष शिवाकोटीले सदस्य स्वास्थ्य उपचार कोषमा रकम वृद्धि गरी सोको व्याजबाट क्यान्सर, मिर्गौला, ब्रेन ट्युमर, मुटुरोग तथा दूर्घटनालगायतका कारणबाट अङ्गभङ्ग भएर वा अन्य रोगका कारण मेजर अपरेशन गर्नुपर्ने भएमा ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गर्ने घोषणा गरे । सो कोषमा हाल ३५ लाख ३६ हजार रहेकोमा यसैवर्ष ५० लाख रुपैयाँ पुर्याउने संस्थाको लक्ष्य रहेको छ ।

यसैगरी, संस्थामा १० हजार रुपैयाँभन्दा बढी शेयर रहेका तथा नियमित एवम् सक्रिय कारोबार गर्ने तर विपन्न ३० घरपरिवारका सदस्यहरुलाई राज्यले अघि सारेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराई २५०० रुपैयाँका दरले बीमा गरिदिने प्रस्ताव पनि गरिएको छ ।

यसैगरी संस्थाको साधारणले तोकेअनुसारको शेयर खरिद गरेका महिला शेयर सदस्यहरु सुत्केरी भएमा चालू आर्थिक वर्षमा १० जनालाई पाँच हजार रुपैयाँका दरले सुत्केरी पोषण खर्च प्रदान गरिने भएको छ ।

२०६३ सालमा स्थापित विराट बचत तथा ऋण सहकारी संस्थासँग तीन वर्ष पहिले विराट कामधेनु महिला कृषि सहकारी संस्था एकीकृत भई बहुउद्देश्यीय सहकारीमा रुपान्तरण भएको हो ।

संस्थाको पूँजी र दायित्व

संस्थाले आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्ममा २ हजार ६७४ जना शेयर सदस्य संख्या पुरयाएको छ भने शेयर पूँजी ५ करोड नौ लाख ८६ हजार रुपैयाँ पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तमा संस्थासँग १७ करोड ३१ लाख ४१ हजार ५१४ रुपैयाँ निक्षेप मौज्दात रहेको, १८ करोड ४२ लाख ४६ हजार ५३९ रुपैयाँ कर्जा लगानीमा रहेको तथा आर्थिक वर्ष २०७४/०७५मा २३ करोड ८६ लाख ६ हजार ३९९ रुपैयाँको कारोबार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले गत आर्थिक वर्षमा ४१ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७४/०७५ सम्म शेयर सदस्यता लिएका सदस्यहरुका लागि १८ प्रतिशत शेयर लाभांस प्रदान गर्ने पनि साधारणसभाले निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *