Sajhamanch Archive

संरक्षित पूँजी फिर्ता अन्तरगत कर्णाली साकोसले सदस्यलाई दियो एक करोड ४० लाख रुपैयाँ

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

झापा । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तरगत कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ४० लाख नौ रुपैयाँ फिर्ता गरेको छ ।

शेयर सदस्यहरुले बचत तथा कर्जा कारोबारमा पुर्याएको योगदानका आधारमा संरक्षित पूँजी फिर्ता गर्ने विषय सहकारी ऐन २०७४ ले अगाडि सारेको हो । ऐनको दफा ६९ मा संरक्षित पूँजी फिर्ता कोषको ब्यवस्था गरिएको छ ।

सो ऐनलाई कार्यान्वयन गर्न बनाइएको सहकारी नियमावली २०७५ को परिच्छेद ६ नियम २५ (ख) मा वित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र लिएको ऋण रकममा तिरेको ब्याजका आधारमा संरक्षित पूँजी फिर्ता पाउने उल्लेख छ ।

उक्त नियमानुसार बचतको ब्याजको ४० प्रतिशत र ऋणमा तिरेको ब्याजको ६० प्रतिशत रकम सम्बन्धित सदस्यले संरक्षित पूँजी फिर्ता वापत पाउने छन् । कर्णाली साकोसले सोही ऐन र नियमावलीको आधारमा पहिलो पटक कर्जाको ब्याजतर्फ ८४ लाख र बचतको ब्याजतर्फ ५६ लाख रुपैयाँ वितरण गरेको हो ।

बिर्तामोड क्षेत्रमा बसोबास गर्ने सदस्यहरुले प्राप्त गरेको संरक्षित पूँजी फिर्ता गर्न आज आयोजित संक्षिप्त कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले गत असार मसान्तमा ३९ हजार हाराहारी सदस्य रहेको कर्णाली साकोसका १७ हजार ८५३ जना सदस्यले यस्तो रकम प्राप्त गरेको जनाए ।

संस्थाका कोषाध्यक्षसमेत रहेका एकराज विष्टले संरक्षित पूँजी फिर्ता वापत सबैभन्दा धेरै ९३ हजार ३३९ रुपैयाँ प्राप्त गरेको जनाउँदै अध्यक्ष श्रेष्ठले १५ हजार रुपैयाँभन्दा धेरै रकम पाउने सदस्यहरुलाई एकैठाउँमा भेला गरेर सम्मान गरिएको बताए ।
आफ्ना सेयर सदस्यले गरेको वित्तीय कारोबारका आधारमा प्रदान गरिएको संरक्षित पूँजी फिर्ताले असल सदस्य बन्न सबै उत्प्रेरित हुनेछन् भन्ने उनको विश्वास थियो ।

कर्णाली साकोसका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले सञ्चालन गरेको कार्यक्रममा संरक्षित पूँजी फिर्ता पाउने उत्कृष्ट २१ जना सदस्यलाई खादा ओडाएर सम्मान गरिएको छ । १५ हजार रुपैयाँभन्दा रकम संरक्षित पूँजी फिर्ता वापत पाउनेहरुमा बिर्तामोडका सतिषकुमार अग्रवाल र रेखादेवी अग्रवाल दम्पत्ती पर्दछन् । उनीहरुले क्रमशः ५७ हजार २८२ र ३७ हजार ७८१ रुपैयाँ पाएका छन् ।

यस्तै, बिर्तामोड कार्यालय अन्तरगतका सेयर सदस्य देवीमाया खतिवडा काफ्लेले ३२ हजार ५३२ रुपैयाँ, सन्तोषकुमार श्रेष्ठ ३० हजार ७६६ रुपैयाँ, मोहनकुमार भेट्वाल २८ हजार २४६ रुपैयाँ र मीना सुवेदी सिटौलाले २७ हजार ६१७ रुपैयाँ पाएका छन् ।

संरक्षित पूँजी फिर्ता पाउने उत्कृष्ट २१ जनामध्ये कुन्तला कन्दङवाले २७ हजार नौ, खिनमाया थापा २६ हजार ७७, कल्पना कुमारी राउतले २३ हजार ७७१ रुपैयाँ पाएका छन् ।

संरक्षित पूँजी फिर्ता पाउने उत्कृष्ट सदस्यहरु सतिषकुमार अग्रवाल, मीना सुवेदी सिटौला र मोहन भेट्वालले यसरी सहकारीबाट नसोचेको रकम पाउँदा खुशी लागेको बताए । हिजोसम्म बैंक र सहकारीमा कारोबार गर्दा केही फरक थाहा थिएन तर आजदेखि नयाँ अनुभूति भएको उनीहरुको धारणा थियो ।

संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले कर्णाली साकोसले पहिलोपटक यसरी वृहतरुपमा कार्यक्रम गरी संरक्षित पूँजी फिर्ता दिइएको अवगत गराउँदै आगामी दिनमा यसलाई निरन्तरता दिइने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *