Sajhamanch Archive

अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारमा वृहत खेलकुद महोत्सव हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारमा यही चैत ७, ८ र ९ गते वृहत खेलकुद महोत्सव गरिने तय भएको छ ।

करिब २ वर्ष लामो कोभिड–१९ को सन्त्रास एवम् महामारीले विद्यार्थीमा गिरेको मनोबललाई उँचो बनाउन तथा उनीहरुको आत्मबलमा वृद्धि गर्न खेलकुद प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

क्याम्पसले आज बिहान पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार विद्यार्थीको खेलप्रतिभा उजागर गर्न एवम् कोभिड महामारीले अस्तब्यस्त बनाएको शिक्षाक्षेत्रलाई लयमा फर्काउन खेल प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताए ।

अनारमनी पब्लिक क्याम्पस र बिर्तामोड नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा गर्न लागिएको प्रतियोगितामा अन्तर मावि/क्याम्पस भलिबल प्रतियोगिता, बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता तथा खुल्ला मिनी म्याराथन दौड प्रतियोगिता समावेश गरिएको छ ।

खेल प्रतियोगिताको सुरुवात खुल्ला मिनी म्याराथन दौडबाट चैत्र ७ गते बिहान साढे ७ बजे शुरु गरिने तय भएको प्रतियोगिता संयोजक अर्जुन मैनालीले बताए । उनका अनुसार मिनी म्याराथन दौड करिब ५ किलोमिटरको हुनेछ भने सयजना जतिले प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

मिनी म्याराथन दौड प्रतियोगिता प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, अन्तर मावि/क्याम्पस नकआउट भलिबल प्रतियोगिता चैत ७ गते बिहान १० बजेदेखि अनारमनी पब्लिक क्याम्पसको प्राङ्गणमा हुनेछ । सहभागी शिक्षण संस्थाका दर्ता समय चैत ४ गते अपरान्हसम्म रहेकाले अन्तिम नामलिष्ट प्राप्त भएपछि खेल तालिका (टाईसिट) सार्वजनिक गरिने आयोजक मितिले जनाएको छ । हालसम्म ७ वटा टिमको नाम दर्ता भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भलिबल प्रतियोगितामा विजेताहरुलाई नगद पुरस्कारको व्यवस्था मिलाइएको बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले बताए । उनका अनसार प्रथम पुरस्कार ३५ हजार, दोस्रो पुरस्कार २५ हजार र तेस्रो पुरस्कार १५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

विद्यार्थीहरुको सर्वाङ्णि विकासमा महत्वपूर्ण मानिने हाजिरीजवाफ प्रतियोगिताले पनि यहाँ महत्व पाएको देखाइएको छ । आयोजक संस्थाहरुले बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता अनारमनी पब्लिक क्याम्पसको प्राङ्गणमा चैत्र ९ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने जनाएका छन् । बिर्तामोड नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुले मात्र हाजिरीजवाफ प्रतियोगितामा सहभागिता जनाउन पाउने निर्णय भएको जनाइएको छ ।

प्रतियोगितामा प्रथम, दोश्रो र तृतीय हुने विद्यालय टिमलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिने क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिए ।

समुदायको मानोमुठी सहयोगमा २०६४ सालमा स्थापना भएको अनारमनी पब्लिक क्याम्पसको प्रचार प्रसार समेतलाई ध्यान दिएर यस्तो खेल प्रतियोगिता आयोजना गरिनु महत्वपूर्ण भएको क्याम्पसका सल्लाहकार उमानाथ ओलीको भनाई छ । पूर्वी नेपालको मुख्य ब्यापारिक केन्द्र बिर्तामोडमा करोडौं रुपैयाँको लगानीमा निजी शिक्षण संस्थाहरु स्थापना भइरहेको परिवेशमा समुदायको अग्रसरता एवम् दान दातब्यबाट अनारमनी पब्लिक क्याम्पसको सञ्चालन भइरहेको हो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ब्यवस्थापन संकाय अन्तरगत बिबिएस तहमामात्र अध्ययन–अध्यापन गराइँदै आएको अनारमनी पब्लिक क्याम्पसमा हाल २४५ जना विद्यार्थीहरु अध्ययनरत छन् । स्थापनाको १४ वर्षमा चलिरहेको सो क्याम्पसले ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्यापन अनुमतिका लागि प्रयास गरिरहेको क्याम्पस प्रमुख शिवाकोटीले बताए ।

व्यवस्थापन समितिका सदस्य रुद्र सिटौलाले सञ्चालन गरेको पत्रकार सम्मेलनको अध्यक्षता उपाध्यक्ष कृष्ण बिमलीले गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने बिर्तामोड नगरपालिकाले एक लाख ५० हजार दिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *