हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउन मोरङमा स्वास्थ्यकर्मीको टोली घरघरमा
Published: (Updated: )
by .विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्तरगत मोरङ जिल्लामा ११औं पटक अभियान संचालन भइरहेको छ । १०औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११औं पटक अभियान संचालन गरिएको हो ।
यस पटकको अभियानलाई प्रभावकारी बनाउन मोरङ जिल्लाका पालिकाहरूले विशेष अभियान संचालन गरेको बताएका छन् ।
अभियानलाई सफल बनाउन घरघरमा स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको टोली गएर औषधी सेवन गराइरहेको पालिकाका स्वास्थ्य संयोजकहरूको भनाई छ । फागुन २८ गतेबाट सुरु भएको अभियान मोरङका प्रत्येक पालिकामा संचालन भइरहेको छ ।
बेलबारी नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंमसेवीका र स्वास्थ्यकर्मी प्रत्येक घरघरमा गएर औषधी सेवन गराइरहेको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए । उनले विगत वर्षहरूमा भन्दा अहिले औषधी खान आमनागरिक इच्छुक भएको पाइएको जानकारी दिए ।
नगरपालिकाले घरघरमा गएर अनुगमन गर्दा पहिलाको तुलनामा यसपटक नगरबासी औषधी खान इच्छुक देखिएको उनले बताए । गत फागुन २८ गतेबाट सुरु भएको अभियान अहिलेसम्म आइपुग्दा सन्तोषजनक रहेको उनको भनाई छ । स्वास्थ्य स्वयंमसेविका र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाइरहेको उनले बताए ।
बेलबारीमा हात्तीपाइले विरुद्धको औषधी खुवाउन ३५ जना महिला स्वयमसेविका र ६५ जना स्वास्थ्यकर्मी खटिएका उनले जानकारी दिए । उनले बेलबारी नगरपालिकाका नागरिकलाई ढुक्क भएर औषधी खान आग्रह गरेका छन् ।
‘नियम अनुसार ६ पटक खुवाउनुपर्ने अभियान हो’, विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिलिप यादव भन्छन्, ‘विभिन्न कारणले हामी सफल हुन सकेनौं, त्यसैले ११औं पटक अभियान संचालन गरेका हौँ ।’
१४८ वटा केन्द्रबाट एकैपटक अभियान संचालन गरेको उनले बताए । उनले भने, ‘पहिलो दिन १५ हजार, दोस्रो दिन १९ हजार जनालाई औषधी सेवन गराउन सफल भएका छौँ ।’ शहरी क्षेत्रमा यसको कभरेज कम भएको अवस्थामा यसपटक घरघरमा गएर औषधी सेवन गराउने अभियान भइरहेको उनले बताए ।
विगतका वर्षमा दुई किसिमको औषधी थियो, उनले भने, ‘अहिले तीन किसिमको औषधी छ, जुन स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको निगरानीमा खुवाइरहेका छौँ, पहिला उमेरको आधारमा खुवाइन्थ्यो भने अहिले उचाइका आधारमा खुवाइरहेका छौँ ।’
‘केही व्यक्तिहरूमा त्रास देखिएको छ, कतिपयले यो औषधी रिसर्चको लागि हो भन्ने लागिरहेको छ’, उनले भने, ‘यो औषधी वर्षौँ वर्षदेखि प्रचलनमा आएको हो, यो नयाँ औषधी हैन, डराउनुपर्ने अवस्था छैन, कसैको शरीरमा परजीवि रहेछ भने हल्का ज्वरो आउने, टाउको दुख्ने हुन सक्छ, यसमा डराउनु पर्ने अवस्था छैन, निर्धक्क भएर औषधी खाँदा हुन्छ ।’
बुढीगंगाका गाउँपालिकामा रहेका ७ वडामा रहेका स्वास्थ्य संस्था प्रमुखको नेतृत्वमा महिला स्वयमसेविका र स्वास्थ्यकर्मी परिचालन गरेर औषधी सेवन गराइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बाशुदेव रेग्मीले बताए । अहिले खुवाइरहेको औषधी पहिलाको भन्दा तीन गुण बढी प्रभावकारी रहेको उनको भनाई छ । उनले भने, ‘पहिला ६ पटक खुवाउनुपर्ने अवस्थामा अहिलेको औषधी दुई पटक मात्र खुवाइयो भने पनि राम्रो नतिजा दिन्छ ।’
यस्तै धनपालथान गाउँपालिकाका ७ वटै वडामा स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मी परिचालन गरेर अभियान चलाइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराज सेठले बताए । अभियान चलेको ४ दिनसम्ममा २५ हजारभन्दा बढी नागरिकले औषधी सेवन गरिसकेको उनले बताए । हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भएकाले सबैलाई ढुक्क भएर औषधी खान आग्रह गरिरहेको उनको भनाई छ ।
हात्तीपाइले रोग विरुद्धको औषधी सेवनका लागि विभिन्न सूचना प्रवाह गर्दा समेत जनमानसमा खानु हुँदैन भन्ने सोचाइ देखिएको ग्रामथान गाउँपालिकाका स्वास्थ्य सह–संयोजक कल्पना घिमिरेले बताइन् । उनले भनिन्, ‘सचेत नागरिक नै यो औषधी खानु हुँदैन भन्ने सोचाइमा रहेको पाइन्छ, अहिले पनि औषधी खुवाउन कठिनाई नै भइरहेको छ ।’
ग्रामथानमा ७० जना स्वास्थ्यकर्मी र ५४ जना महिला स्वयमसेविकाको टोलीले घरघरमा गएर औषधी खुवाइरहेको उनले बताइन् । उनले भनिन्, ‘हामीले अनुगमन पनि गरिरहेका छौँ, कुनै घरमा मान्छे नभेटिएको खण्डमा कतिखेर आउँछन्, सोही समयमा गएर खुवाउने गरिएको छ ।’ विगतको तुलनामा अहिले अभियान प्रभावकारी भइरहेको उनले बताइन् ।
विगतको तुलनामा यसपटक हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान प्रभावकारी नै रहेको जहदा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले बताए । गाउँपालिकाका ७ वडा बाटामा ४१ जना महिला स्वास्थ्य स्वयमसेविका र ४१ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए ।
उनले भने, ‘औषधी खुवाउन जाँदा खाली पेट छ भनेर खान नमान्ने धेरै पाइयो, त्यसैले गाउँपालिकाबाट रकम विनियोजन गरेर औषधी खुवाउन जाने स्वयमसेविका र स्वास्थ्यकर्मीले बिस्कुट लिएर जाने गर्नुभएको छ, खाली पेटमा छु भन्नेलाई बिस्कुट खुवाएर औषधी सेवन गराइरहेका छौँ ।’ उनले पनि दैनिक रिपोर्ट हेर्दा विगतको तुलनामा अभियान प्रभावकारी नै देखिएको बताए ।
प्रत्येक वडामा महिला स्वयमसेविका र स्वास्थ्यकर्मीको टोली घरघरमा परिचालन गरेर औषधी सेवनको अभियान संचालन भइरहेको कानेपोखरी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रकुमार राजभण्डारीले बताए । विगतका तुलनामा अभियान प्रभावकारी भइरहेको उनको भनाई छ । उनले भने, ‘केही समस्या त भइरहेको छ, तर विगतको तुलनामा प्रभावकारी नै छ ।’
विगतका तुलनामा फरक किसिमले अभियान संचालन गरिरहेको केराबारी गाउँपालिकाका स्वास्थ्य संयोजक टोम प्रसाद चौलागाइले बताए । तीन दिनको अबधिमा करिब १० हजार बढीलाई हात्ती पाइले विरुद्धको औषधी सेवन गराइसकेको उनले बताए । उनले भने, ‘पहिलाको तुलनामा नागरीक पनि सचेत देखिएका छन्, औषधी खुवाउन खासै समस्या देखिएको छैन ।’
महिला स्वास्थ्य स्वंयमसेवीका, स्वास्थ्यकर्मी र विभिन्न सहयोगी संस्थाको सहयोगमा सुनवर्षी नगरपालिकाका हात्तीपाइले विरुद्धको औषधी खुवाइरहेको स्वास्थ्य संयोजक किशोरकुमार मण्डलले बताए । यो पटक प्रत्यक्ष निगरानीमा नै औषधी खुवाइरहेको उनले जानकारी दिए । घरघरमा गएर अभियान संचालन भइरहेको उनको भनाई छ ।
Comments