विद्यार्थीले अष्ट्रेलियामा रूचि र करिअरलाई जोड दिनुपर्छ
Published:
by .सिड्नी (अष्ट्रेलिया) । नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया पढ्न आउँदा आफ्नो रूचि भएको क्षेत्रमा करिअर बनाउनको लागि ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । सिड्नीमा सम्पन्न नेपाली युवाहरूको मिटअपका सहभागीहरूले रूचि र ज्ञान नै नभएको क्षेत्रमा अष्ट्रेलियाको बसाई लम्ब्याउने हिसाबले लहैलहैमा लाग्दा धेरै विद्यार्थीको समय र भविष्य बर्बाद भइरहेको जानकारी दिएका थिए ।
नयाँ तथा पुराना नेपाली विद्यार्थीहरूको जमघटमा एनआरएन उपाध्यक्ष देव गुरूङले नयाँ आउने विद्यार्थीहरूले कामलाई मात्र जोड नदिएर पढाई, स्वास्थ्य, साथीभाई, सम्बन्ध र करिअरलाई पनि केन्द्रमा राख्नुपर्ने बताएका हुन् । अष्ट्रेलिया आउने विद्यार्थीहरूले आर्थिक मानसिक तनाबका साथै परिवार र सम्बन्धमा समेत विभिन्न समस्याहरू भोग्दै आएको उनको भनाई छ ।
दुर्घटना, काममा शोषण, श्रीमान श्रीमतीको झगडा, केटा र केटीसँगै बस्ने खालको सम्बन्ध (लिभईन रिलेसनसिप), विवाहोत्तर सम्बन्ध साथै आफ्नै ज्यान लिने सम्मका घटनाहरूमा नेपाली विद्यार्थी र युवाहरूले समस्या भोगेको कुरा निरन्तर समाचारमा आइरहेका छन्। सामुदायिक अगुवा तथा शैक्षिक परामर्शदाता दिपक पौडेलले अष्ट्रेलियामा अनेक संभावना भएपनि विद्यार्थीले आफूलाई त्यसको लागि तयार पार्नु जरूरी रहेको बताए ।
करिअर परामर्शदाता तथा प्रिज्मस एजुकेशन कन्सल्टेन्सी संचालक लेखनाथ अधिकारीले विद्यार्थीहरूले आफ्नो लक्ष र करिअरभन्दा पनि सानो सानो क्षणिक लाभहानीलाई बढी जोड दिँदा समस्यामा पर्ने गरेको बताए । उनले भने, आफ्नो रूची र भविष्यको विषयलाई लिएर पढाईलाई अगाडि बढाउन चाहनेको संख्या निक्कै कम छ, जसले गर्दा धेरैले अनेक हण्डर खेपिरहेका छन्।
सफ्टवेयर ईन्जिनियर तथा सफ्टवेयर प्रोग्रामिङ तालिम दिने संस्था डेन्टेडकोडका संचालक प्रेम आचार्यले विद्यार्थीहरूले सिप र करिअर विकासलाई जोड दिने हो भने अष्ट्रेलियामा यहाँको बासिन्दा बनेर आनन्दसँग बस्न सकिने अवस्था रहेको प्रष्ट्याए । उनले सफ्टवेयरको क्षेत्र व्यापक संभावनाको भएकाले यसमा सिप विकास गर्ने हो भने अष्ट्रेलियामा उच्चस्तरको जीवनशैली अपनाउन सकिने अवस्था रहेकोले सुरूमै आउनेहरूले हतास चाहिँ हुन नहुनेमा जोड दिए ।
ओबन मिटअप २० नाम दिइएको सो कार्यक्रममा नयाँ आएका विद्यार्थी, अष्ट्रेलियामा केही समय बिताइसकेका र आफ्नो क्षेत्रमा करिअर बनाइसकेका, नेपालीमूलका अष्ट्रेलियन युवाहरूको सहभागिता थियो। ब्राण्डिंग र मार्केटिंग विशेषज्ञ रूपमा सिड्नीमा लामो समयदेखि कार्यरत रमण झाले छलफलमा भने, ‘विद्यार्थीहरूले उचित र कानुनी रूपमा सुरक्षित उपायहरू अपनाउने र करिअर बनाउनमा केन्द्रित हुने हो भने अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कुनै समस्या छैन।‘
कार्यक्रमका संयोजक धर्वेन्द्रप्रसाद यादवले यस्तै जमघट र ‘मेन्टरिंग’बाट अष्ट्रेलियामा पढ्दै गरेका चार–पाँच जना विद्यार्थीले निक्कै राम्रो कमाई सहितको जागिर र व्यवसाय सुरू गरेको जानकारी दिए । उन्ले सफ्टवेयर डेभेलोपर, डिजिटल मार्केटर, प्रोग्रामर लगायतका प्रविधीको क्षेत्रमा धेरै नेपाली विद्यार्थीहरूले सफलता पायरहेको उदाहरण सुनाए ।
Comments