Sajhamanch Archive

मस्तिष्कबाट दलित शब्द हटाऔँ : मन्त्री कार्की

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by .

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने शब्द हटाउनुपर्ने औंल्याएका छन् । ५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

रिडेफ नेपाल र प्रदेश सरकारसँगको सहकार्यमा विराटनगरमा आयोजित दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा मन्त्री कार्की बोल्दै थिए ।

‘म दलित हुँ । उ माथिको जात हो । त्यसले जस्तो म काम गर्न सक्दिन भन्ने मानसिकता हटाऔँ, म पनि अरू जत्तिकै काम गर्न सक्छु भनेर लाग्नुपर्यो’ उनको सुझाव छ । दलित समुदायभित्र पनि निम्न वर्गका मानिसको जीवनस्तर उकास्न लाग्नुपर्नेमा उनको जोड छ ।

सो कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिहरूले आफ्नो ५ वर्षको कार्यकालमा व्यक्तित्व विकासदेखि नेतृत्व विकाससम्मको अनुभव सुनाएका छन् । वडा सदस्य रहेका महिलाहरूले अब पार्टीले जिम्मेवारी दिएमा वडाध्यक्ष, उपप्रमुख र प्रमुख कै पनि कार्यभार समाल्न सक्ने क्षमता अभिवृद्धि भएको बताएका थिए ।

मन्त्री कार्कीले दलित भएकै कारणले थिचोमिचोमा पर्न नहुनेमा जोड दिए । जनप्रतिनिधिले आफ्ना समुदायका नागरिकको जीवनस्तर उकास्न तर्फ ध्यान दिन उनको सुझाव छ ।

जातीय छुवाछुतकै कारणले कोही थिचोमिचोमा पर्छ भने कानून अनुसार कारबाही हुने उनको आश्वासन छ । ‘तपाईहरु नेता हो, तपाईहरु सबैको न्याय गर्ने ठाउँमा हुनुहुन्छ’ मन्त्री कार्कीको भनाई छ ‘सबै जनताले नै तपाइहरूलाई भोट दिएको हुनाले समाज सुधार्ने जिम्मेवारी पनि तपाईंले नै पूरा गर्नुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *