हिसान–झापाको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा पौडेल दोहोरिए
Published:
by .झापा । उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ झापा (हिसान–झापा) को अध्यक्षमा सुरेशबहादुर पौडेल पुनः चयन भएका छन् ।
आज सोमबार बिर्तामोडमा भएको हिसान–झापाको पाँचौ जिल्ला अधिवेशनबाट गौरादहका अध्यक्षमा पुनः पौडेल नै चुनिएका हुन् । अध्यक्ष पदमा रहेर काम गर्न इच्छुक देखिएका डा. रुपक खनाललाई माथिल्लो तहमा जिम्मेवारी दिने विश्वास दिलाउँदै पौडेलले पुनः अध्यक्षको भूमिका लिएका हुन् ।
जिल्ला अधिवेशनले हिसान–झापाको उपाध्यक्षमा बिर्तामोडका गौतम शर्मा शिवाकोटीलाई चयन गरेको छ भने सचिवमा दमकका टेकनाथ भण्डारी, सहसचिवमा बिर्तामोडका देवेन्द्र हुमागाईं र कोषाध्यक्षमा बिर्तामोडकै रञ्जित साहालाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा मेचीनगरका भाष्कर निरौला, बाह्रदशीका लक्ष्मी उप्रेती, बिर्तामोडका उत्तम खनाल र रामकुमार बुढाथोकी, कमलका अग्नि कोइराला र अर्जुनधाराका बालगोपाल गौतमलाई चयन गरेको नवनिर्वाचित सहसचिव हुमागाईंले जनाएका छन् ।
पाँचौं अधिवेशनको उद्घाटन हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले गरेका थिए । उद्घाटन पछि आफ्नो मन्तब्यमा उनले नेपालको शिक्षा निजी क्षेत्रले धानेको भन्दै निजी कलेज नहुने हो भने देशको शिक्षा लंगडो हुने दावी गरे । त्यस्तै विद्यालय तहको शिक्षामा पनि निजी विद्यालयकै बढी योगदान रहेको उनले तथ्याङ्क प्रस्तुत गरे ।
नेपालमा निजी शिक्षण संस्थाले आफ्नो योगदानको बहस नै नगरेकाले अनेकन आरोपहरु लाग्ने गरेको दावी गर्दै हिसानका केन्द्रीय अध्यक्ष सिलवालले थपे, शिक्षामा जति बहस हुनु पथ्र्यो, त्यति नभएको भनाई राखे ।
जिल्ला अधिवेशनमा हिसानका केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराईले हिसान र प्याब्सनको एउटै उद्देश्य भएकाले दुवै संगठनले तालमेल गरेर अघि बढ्नु पर्ने खाँचो औल्याए । ‘शिक्षक र प्राध्यापकहरुको संगठन हिसान र प्याब्सन होइन’ उनले भने, ‘दुवै संगठन संचालकहरुको भएकाले उद्देश्य एउटै लिएर अघि बढ्नुको विकल्प छैन ।’
निजी शिक्षण संस्थामा काम गर्ने शिक्षक प्राध्यापकहरुले उमेर छउन्जेल दशकौंसम्म पसिना बगाएर काम गरे पनि अध्यापन छोड्दा रित्तोहात हुनुपर्ने अवस्थाको अन्त्य गर्न शैक्षिक प्रतिष्ठानहरुको ध्यान जानुपर्ने विषय भट्टराईले उठान गरेका थिए ।
अधिवेशन उद्घाटन समारोहमा बोल्ने सबैजसो वक्ताहरुले सरकारले निजी क्षेत्रका शिक्षालयहरुलाई सौतेनी व्यवहार गरेको गुनासो गरेका थिए । उनीहरुले आफैं शिक्षा प्रदान गर्नुपर्र्ने जिम्मेवारी निर्वाह गर्न नसकिरहेको सरकारले गलत शिक्षा नीति बनाएर निजी शिक्षालयहरुलाई बन्द गराउने प्रयास गरिरहेको आरोप लगाए ।
मन्तब्य राख्नेहरुमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे, जिल्ला अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगरपालिकाका शिक्षा समिति सदस्य गुरुभक्त न्यौपाने, गौरादह क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोजराज दाहाल थिए ।
जिल्ला अध्यक्ष सुरेशबहादुर पौडेलको अध्यक्षतामा कोषाध्यक्ष डा. रुपक खनालले शाब्दिक स्वागत गरेका तथा हिसान झापाको आर्थिक विवरण पेश गरेका थिए । कार्यक्रमको संचालन सचिव गौतम शर्मा शिवाकोटीले गरेका थिए ।
Comments