Sajhamanch Archive

स्थापनाको २० वर्षपछि काँकरभिट्टा क्याम्पसमा प्रथम क्याम्पस सभा

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस स्थापना भएको २० वर्ष पछि आज शुक्रबार प्रथम क्याम्पससभा बैठक गरिएको छ । पहिलो क्याम्पससभामा व्यवस्थापन समितिका अध्यक्ष कमल थापाले क्याम्पसको विगत, वर्तमान र भावी सम्भावनाका बारेमा चर्चा गरिएको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

हाल क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा चार वर्षे अवधिका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको, शिक्षण शुल्कको दर न्यून रहेको, विद्यार्थी संख्या न्यून रहेको तथा अन्य आम्दानीको भरपर्दो स्रोत नभएका कारण प्राध्यापक र कर्मचारीहरुलाई श्रमको उचित पारिश्रमिक दिन नसकिरहेको अध्यक्ष थापाले प्रतिवेदनमार्फत् औंल्याएका छन् ।

क्याम्पसले भोग चलन गरिरहेको आफ्नै परिसरको १० कठ्ठा जमिनमा पनि क्याम्पसको स्वामित्व नरहेको हुँदा यसमा सबैपक्षको पहल आवश्यक रहेको अध्यक्ष थापाको माग छ ।

प्रचुर सम्भावनाका बीचबाट क्याम्पसलाई यस क्षेत्रकै गुणस्तरीय शिक्षासहितको नमूना क्याम्पसको रुपमा अगाडि बढाउनका लागि क्याम्पस सभा समक्ष छलफल, स्वीकृति एवम् अनुमोदनका लागि विभिन्न प्रस्ताव एवम् प्रतिवद्धताहरु पनि अध्यक्ष थापाले गरेका छन् ।

कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन, विधान एवम् नीति तथा कार्यविधि, सञ्चालक समिति गठन, वार्षिक बजेट तथा कार्यक्रमको स्वीकृति र अनुमोदन हुनुका साथै सामाजिक परीक्षण समितिसमेत गठन गरिएको छ ।

समितिको संयोजकमा शिक्षासेवी खड्गप्रसाद बराल तथा सदस्यहरुमा राजु पोखरेल, हेमा सिटौला, चन्द्र निरौला र शशी थापा मगर रहेका छन् ।

विधान एवम् नीति तथा कार्यविधि क्याम्पस सञ्चालक समिति सदस्य ठाकुरप्रसाद शिवाकोटीले प्रस्तुत गरेका थिए ।
२०५५ सालमा स्थपना भएको क्याम्पसको प्रथम र ऐतिहासिक क्याम्पस सभाको उद्घाटन संघीय सांसद सुरेन्द्रकुमार (राम) कार्कीले गरेका हुन् ।

प्रथम क्याम्पससभा उद्घाटन पछि प्रमुख अतिथिसमेत रहेका सांसद कार्कीले नेपालको शिक्षाको जग बलियो बनाउन आवश्यकता रहेको औंल्याए । नेपालको स्वास्थ्य र शिक्षाक्षेत्रमा कुनै ठोस नीति नभएका कारण देशको स्वास्थ्य र शिक्षाक्षेत्र कमजोर भएको उनको टिप्पणी थियो ।
उनले विभिन्न दलतर्फ इंगित गर्दै आफ्ना पार्टीका शिक्षकलाई राजनीतिको झोला बोकाएर हिडाउनुभन्दा एउटा कुशल शिक्षकका रुपमा विकास गर्न जोड दिनुपर्ने सुझाए ।

शिक्षकमा कठिन परिश्रम र सामान्य जीवन व्यतित गर्ने, आफू अनुशासित भएर अरुलाई सेवा दिर्दै नैतिकवान बनाउने तथा मुलुकको शिक्षा देशप्रेम भए शिक्षा क्षेत्र आफैं सुध्रिने उनको तर्क छ ।

 

अक्षयकोषमा योगदान

क्याम्पससभाको अवसरमा आज एकैदिन १४ लाख रुपैयाँभन्दा बढीको अक्षयकोष घोषणा भएको छ । स्थापनाको २० वर्षपछि शुक्रबार सम्पन्न सभामा विभिन्न दाताहरुले स्वतःस्फूर्तरुपमा अक्षय कोष घोषणा गरेका हुन् ।

अक्षयकोषमा रकम घोषणा गर्नेहरुमा मेचीनगर नगरपालिकाका प्रमुख एवम् क्याम्पसका सञ्चालक समितिका पूर्व अध्यक्ष विमल आचार्यले ५ लाख, शिक्षासेवी तथा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष मोहनप्रकाश उप्रेतीले २ लाख, क्याम्पसका कर्मचारी शिक्षकबाट २ लाख २० हजार, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र क्याम्पस सञ्चालक सदस्य कमल थापाले २÷२ लाख, युवा व्यवसायी बासु खड्का ७५ हजार, तात्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले ५१ हजार तथा व्यवसायी रोशन अग्रवालले ५१ हजार रुपैयाँको अक्षय कोष रकमको घोषणा गरेका हुन् ।

कार्यक्रममा १४ लाख ९७ हजार रुपैयाँको अक्षय कोष रकम घोषणा भएको छ । अक्षयकोषमा ५ वर्षको अवधिमा एक करोड रुपैयाँ रकम पुर्याउने प्रयत्न गरिने क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

व्यवसायी कृष्णकान्त खनियाले करिव ५० हजार रुपैयाँ बराबरको प्रोजेक्टर तथा समावसेवी गंगालाल गुरुङले ६० हजार रुपैयाँ मूल्य बराबरको एकसय थान कुर्सी क्याम्पसलाई सहयोग गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, पूर्व क्याम्पस प्रमुख यज्ञराज प्रसार्ईलगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन क्याम्पस प्र्रमुख लक्ष्मीप्रसाद उप्रेती र स्वागत क्याम्पस सञ्चालक समितिका सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख यज्ञराज प्रसााई, प्राध्यापक माधवराज शर्मा र कर्मचारी मिना भट्टराईलाई विदाई गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले विदाई पत्र प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *