Sajhamanch Archive

म्याग्दी खोला हाइड्रो पावर परियोजनाको विद्युत खरिद सम्झौता

Published: in अर्थतन्त्र by .

काठमाडौं । हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइड्रो पावर परियोजनाबाट उत्पादन गर्ने बिजुली खरिद बिक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसिंह घिसिङ र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरेका हुन् ।

म्याग्दी जिल्लामा बन्ने ५७ दशमलव ३ मेगावाटको परियोजना १० अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाले सन् २०२३ मा विद्युतको ब्यवसायिक उत्पादन सुरु गर्ने लक्ष लिएको छ ।

‘जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि समयमै परियोजना पूरा गर्न हामी प्रतिवद्ध छौं’ आयोजनाका अध्यक्ष थापाले भने ।

परियोजनाका प्रबन्ध निर्देशक सुशिल पोखरलले आयोजनामा लगानी हुने ३० प्रतिशत रकम प्रत्यक्ष वैदेशिक लगानीबाट जुटाइने जानकारी दिए । अरु ७० प्रतिशत विभिन्न बैंकबाट ऋण लिएर लगानी गरिने छ ।

‘अहिले हामी परियोजनालाई जोड्ने २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको तयारी गरिरहेका छौं’ पोखरेलले भने, ‘आयोजनाको काम सुरु गरेको साढे ३ वर्षभित्रै विद्युत उत्पादन गर्ने गरी हामी काम अगाडि बढाउनेछौं ।’

परियोजनाले जारी गरेको विज्ञप्ती अनुसार यस आयोजनाले सुख्खा याममा १०३ दशमलव ११ गिगावाट आवर र वर्षामा २३२ दशमलव ८८ गिगावाट आवर गरी वार्षिक औषत ३३५ दशमलव ९९ गिगावाट आवर विद्युत उत्पादन गर्ने छ । उत्पादित विजुली प्राधिकरणले वर्षात्मा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटमा खरिद गर्ने छ ।

धवलागिरी हिमालको आधारमा रहेको नदी प्रवाही (आरओआर) आयोजनाबाट उत्पादित बिजुली आयोजनास्थलदेखि १७ किलोमिटर दूरीमा प्राधिकरणले निर्माण गर्ने कालीगण्डकी कोरिडोरको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *