झापामा दुई दिवसीय सहकारी सम्मेलन सुरु
Published: (Updated: )
by .झापा । झापा जिल्ला सहकारी संघले ६५औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा दुई दिवसीय सहकारी सम्मेलन सञ्चालन गरेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रथम झापा सहकारी सम्मेलनको उद्घाटन गरिदिएका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि आङबो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला संघका सचिव भवानीप्रसाद दंगाल र सहसचिव कृष्णप्रसाद मिश्रले गरेका थिए । सम्मेलनको पहिलो दिन संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले झापामा सहकारीको सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै, अस्ट्रेलियाका लागि पूर्वराजदुत महेशराज दाहालको उत्प्रेरणात्मक प्रस्तुति रहेको थियो । नेपाल टेलिभिजनका पूर्व अध्यक्षसमेत रहेका दाहालले करिब दुई घण्टाको प्रस्तुतिमा सहभागीहरुलाई सहकारी हाम्रा लागि सबैथोक हो भन्ने शिराबाट उत्प्रेरित गरेका थिए ।
पहिला दिनको अन्तिम कार्यपत्र नेफ्स्कुनका पूर्वकोषाध्यक्ष केशव पोखरेलको रहेको थियो । उनको कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक तथा एनएमसी झापाका सिईओ लक्ष्मीप्रसाद उप्रेतीले टिप्पणी गरेका थिए ।
चैत २० गते दोस्रो दिनको कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सहकारीमा प्रविधि र नवप्रवर्तनका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
सम्मानित र पुरस्कृतको नाम सार्वजनिक
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुअघि संघले यसवर्ष सम्मान तथा पुरस्कृत गर्ने संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको छ । संघका अध्यक्ष गणेश ढकालले यसवर्ष संघले सम्मान गर्नेहरुको नाम घोषणा गरेका हुन् ।
यसवर्ष झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बाँस्कोटालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । त्यस्तै, पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट सञ्चारकर्मी लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि नगद १० हजार ५५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्था रहेका छन् ।
उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोस रहेका छन् । उनीहरु सबैलाई पुरस्कार स्वरुप नगद १० हजार ५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष ढकालले बताए ।
यसैबीच, उत्कृष्ट व्यवस्थापक महिलामा हिमाञ्चल साकोसकी अरुणा राई र पुरुषमा विराट बहुउद्देश्यीयका रुद्र सिटौला रहेका छन् । उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई संघको आगामी साधारणसभा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
Comments