कमलमा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता
Published:
by .कमल । राजनीतिक गतिविधिमा कुनै पनि दलले बालबालिकाको प्रयोग गर्न नहुने यहाँ आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले स्वीकार गरेका छन् ।
कमल बाल सञ्जालको आयोजनामा भएको कार्यक्रममा राजनीतिक दलका जिम्मेवार नेताहरुले राजनीतिक क्रियाकलापमा बालबालिकाको संलग्नता नरहने प्रतिवद्धता गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग हुने र यसले बालबालिकालाई असर पुग्ने भएकोले चुनाव प्रचार प्रसारजस्ता गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न बाल सञ्जालको सुझाव थियो ।
धेरैजसो राजनीतिक दलले आफ्ना कार्यक्रमहरुमा बालबालिकालाई उपयोग गर्दै आइरहेका छन् । यसले बालबालिकाको कलिलो मनस्थितिमा नकारात्मक असर पर्ने गरेको छ ।
त्यसलाई न्यूनीकरण गर्न यस्ता रचनात्मक कार्यक्रमहरु प्रभावकारी हुने नेकपा एमाले कमल गाउँ कमिटीका अध्यक्ष प्रेमबहादुर पोखेरलले बताएका छन् ।
हिजोसम्म छुटपुट कतै बालबालिकाहरुलाई कार्यक्रममा सहभागी गराएको थियो भने माफी माग्दै उनले आगामी दिनमा एमालेले आयोजना गर्ने कुनै पनि कार्यक्रममा बालबालिकालाई प्रयोग नगर्ने प्रष्ट पारेका छन् ।
बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषण गर्ने अभियानमा कमल गाउँपालिका लागिपरेको जनाइएको छ ।
राजनीतिक दलले आफ्ना गतिविधिमा बालबालिकाको प्रयोग गर्दा उनीहरुको मानसिक असर पर्ने जनाउँदै नेपाली कांग्रेस कमल गाउँ समितिका कार्यवाहक सभापति केदार कटुवालले गाउँपालिकामा क्रियाशील सबै राजनीतिक दलले एकवद्धता भएर यसको अन्त्य गर्नुपर्ने जनाए ।
Comments