Sajhamanch Archive

कनकाई नगरपालिकाले कोरोनाकालमा खेलेको भूमिकाको विवरण सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य शाखामार्फत हालसम्म भएका उपलब्धीहरू सार्वजनिक गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्र स्थापनासहित उपकरण जडान तथा कोरोना भाइरस महामारीको समयमा गरेको कार्यविवरण आज सार्वजनिक गरेको हो ।

नगरपालिकाले डिआर एक्सरे सञ्चालन, युएसजी सेवा सञ्चालन, इसिजी सेवा सञ्चालन, ल्याब सेवाको विस्तार, चौबिस घण्टे इर्मरजेन्सी सेवा सञ्चालन, स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि बीमा फार्मेसी सञ्चालनलगायतका कार्यहरू गरेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

कनकाई नगरपालिकाका वडा नं. २, ४, ६, ७ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी सञ्चालन गरेको नगरप्रमुख पोखरेलले बताए । वडा नं. १ मा नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद स्वास्थ्य सेवा केन्द्र)को स्थापना गरेर सञ्चालनमा ल्याएको बताउँदै नगर प्रमुख पोखरेलले नगरको एउटामात्र स्वास्थ्य चौकी घैलाडुब्बाको स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार भएको र सञ्चालनको तयारीमा रहेको जनाए ।

सहारा नेपालको समन्वयमा एकका लागि एक अभियान मार्फत मेची प्रादेशिक अस्पतालको मातहतमा रहने गरी कोटीहोममा पिसिआर ल्याब सञ्चालन भएर हालसम्म कार्य गरिरहेको, कोभिड १९ को पहिलो भेरियन्टको सुरुवातसँगै वडा नं. १, ३, ४, ६, ८, ९ मा अस्थायी क्वारेन्टिनको स्थापना गरी विदेशबाट आएका करिब ५ हजार जनालाई निःशुल्क पिसिआर परीक्षण गरी संक्रमितलाई अस्पताल पुर्याई उपचारको प्रबन्ध मिलाएको जनाइएको छ । संक्रमण नभएकाहरूलाई घरमै पुर्याउने व्यवस्था गरेको नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताए ।

कोभिड–१९ को पहिलो चक्रको समयमै विदेशबाट आएका नगरबासीलाई एयरपोर्ट तथा सीमा नाकाबाट ल्याएर घर–घरमा निःशुल्क पुर्याउने व्यवस्था, होम आइसोलेसनमा रहेका संक्रमितहरूका लागि स्वास्थ्य शिक्षाका साथै पोषणयुक्त खाद्यवस्तु वितरण र सिम्टोमेटिक व्यक्तिहरुलाई निःशुल्क अस्पताल पुर्याउने व्यवस्था, दोस्रो भेरियन्टको न्यूनीकरण तथा रोकथामका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा २०७८ जेठ ९ गतेदेखि २०७८ भदौ ३१ गतेसम्म २० बेडको अक्सिजनसहितको अस्थायी आइसोलेसन सञ्चालन गरी ८९ जनाको निःशुल्क उपचार गरिएको कोरोना फोकल पर्सन अधिकारीको भनाई छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको अस्थायी आईसोलेसनमा उपचार सम्भव नहुने संक्रमितहरूलाई दुई वटा निःशुल्क एम्बुलेन्सको प्रयोग गरी थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पुर्याइएको, प्रत्येक वडामा होम आइसोलेसनमा रहेका संक्रमितहरूको स्वास्थ्य अवस्थाको लेखाजोखा गर्न औषधीसहितको स्वास्थ्यकर्मी टोली घर पठाई स्वास्थ्योपचार, स्वास्थ्य शिक्षा तथा रेफरको व्यवस्था मिलाएको, कोभिड–१९ को सुरुवाती अवस्थादेखि संक्रमण न्यूनीकरण गर्न १२ हजार ३९० जनाको निःशुल्क आरडिटि पिसिआर तथा एन्टिजेन टेस्ट गरिएको कोरोना फोकल पर्सन अधिकारीले बताए ।

कोटिहोम पिसिआर ल्याबमा २ वर्ष मुनि र ७० वर्ष माथिका नागरिकहरूको निःशुल्क जाँच भइरहेको, विभिन्न संघ÷संस्था, समूह व्यक्तिहरूबाट चन्दा सङ्कलन गरी अक्सिजन प्लान्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९ वटै वडाहरूमा स्वास्थ्य एकाइ स्थापना गरी सेवा सञ्चालन गरेको र ७ वटा स्वास्थ्य संस्थाहरू आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको, प्राथमिक स्वास्थ्य केन्द्रमा मेची आँखा अस्पतालको समन्वयमा आँखा जाँच सेवा सञ्चालन भएको, १५ शैय्याको कनकाई नगर अस्पतालको शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको र प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा २० वटा अक्सिजन कन्सन्ट्रेटर र ३५ वटा अक्सिजन सिलिन्डर थप गरी सेवा प्रदान गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले नगरमा अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारीमा रहेको बताउँदै स्वास्थ्य क्षेत्रको विकासका लागि नगरका स्वास्थ्य शाखालाई सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नगर उपप्रमुख मञ्जु प्रसाईले विशेष गरेर बालबालिका, अशक्त, अपाङ्ग र महिलाहरूको स्वास्थ्यलाई ध्यान दिँदै कार्य गरेको बताएकी छन् ।

स्वास्थ्य शाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोभिड–१९ का कारण नगरमा १८ जना महिला र २७ जना पुरुष गरेर ४५ जनाको मृत्य भएको छ । स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई हजार ३३२ जना कोरोना पोजेटिभ थिए भने ४४ जनालाई राहत वितरण गरिएको थियो ।

यस्तै कोरोना सुरुवातबाट हालसम्म अक्सिजन सिलिन्डर र अक्सिजन कन्सनट्रेटर नगरभरी रहेका दम तथा अन्य दीर्घरोगी नागरिकलाई घरघरमै २४ सै घण्टा पुर्याउने ब्यवस्थापन गरिरहेको र अहिले पनि अक्सिजन लगाउनु पर्ने सिकिस्त बिरामी जेष्ठ नागरिक, महिला तथा बालबालिका लगायतलाई लगाउन १५ ओटा अक्सिजन नागरिकहरुको घरमा दिएको शाखाका कर्मचारी रोहित कोइरालाले जनाए ।

कोरोना महामारीका समयमा नगर तथा जनप्रतिनिधिहरूले विभिन्न सामाजिक संघ÷संस्थाको समन्वयमा कोरोना पोजेटिभ बिरामीलाई स्वास्थ्य सामग्री वितरण, राहत वितरण लगायत अस्पताल पुर्याउनका लागि खेलेको भूमिका प्रशंसनीय रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *