Sajhamanch Archive

सर्वोच्चको आदेशले केन्द्रीय बैंकको स्वायत्तता थप संरक्षण भयो : गभर्नर अधिकारी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

‘बुधबारबाटै काममा फर्किन्छु’ : गभर्नर अधिकारी 

काठमाडौँ । सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले मंगलबार अर्को आदेश जारी नभएसम्मका लागि गभर्नर अधिकारीलाई काममा फर्किने बाटो खोलिदिएको हो ।

‘सर्वोच्चको आदेशले केन्द्रीय बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको छ’ कान्तिपुरसित कुराकानी गर्दै अधिकारीले भने । राष्ट्र बैंकको कामकाजमा कहिलेबाट फर्कनु हुन्छ रु भन्ने प्रश्नमा उनले भने, ‘बुधबारबाटै म नियमित काममा फर्किने छु ।’

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अधिकारीले निवेदनमा उठाएका विषय नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र अर्थतन्त्रको स्थायित्वसँग गाँसिएको विषय भएकाले दुवै पक्षलाई झिकाई छलफल गरी निर्णयमा पुग्नुपर्ने देखिएको बताएको छ ।

गत चैत २४ मा मन्त्रिपरिषद्ले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै उनी स्वतस् निलम्बनमा परेका थिए । आफ्नो निलम्बनविरुद्ध सर्वोच्च पुगेका अधिकारीले अन्तरिम आदेशमार्फत् जाँचबुझ समितिलाई कामकाज गर्न रोक लगाउन र आफूलाई नियमित काममा फर्काउन माग गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहपूर्ण तरिकाले आफूलाई हटाउन जाँचबुझ समिति गठन गरेको, समितिको नेतृत्व आफ्नै नातेदारलाई दिएको र समिति सदस्यहरूमा पनि अर्थमन्त्री शर्मा आवद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई राखेको भन्दै जाँचबुझ समितिकै वैधानिकतामा चुनौती दिएका हुन् ।

कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *