कनकाईमा कांग्रेसबाट मेयरका दाबेदार राप्रपामा प्रवेश
Published: (Updated: )
by .कनकाई । स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहँदा पार्टीका जिम्मेवार व्यक्तिबाट दल परिवर्तन गर्ने कार्य पनि बढेको पाइन्छ । विभिन्न पार्टीमा भएको यस्तो गतिविधिले कनकाई कांग्रेसलाई समेत छोएको छ ।
पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस कनकाईबाट मेयरको लाइनमा उभिएका नेता रमेश श्रेष्ठले आसन्न निर्वाचनको संघारमा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कनकाई नगरको मेयर पदका लागि सर्वाधिक चर्चा कमाएका श्रेष्ठलाई पार्टीले टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टी जनाउँदै थिए ।
कांग्रेस नेता श्रेष्ठलाई राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौला, जिल्ला अध्यक्ष केशव ओझा लगायतका नेताले राप्रपामा स्वागत गर्दै पार्र्टीको सदस्यता प्रदान गरेका हुन् । राप्रपामा प्रवेश गर्दै नेता श्रेष्ठले कांग्रेसमा भएको झुटको राजनीतिमा आफू सिकार बनेको बताउँदै आसन्न निर्वाचनमा खुट्टा कमाउँदै अघि बढेको कांग्रेसलाई अब न्यायप्रेमी जनताले चाँडै फैसला गरिदिने बताए ।
आफ्नो जीवनको उर्जाशिल समय कांग्रेसका ठेकेदारहरुले बर्बाद गरिदिएको टिप्पणी गर्दै नेता श्रेष्ठले कांग्रेस पार्टीमा राजनीतिका नाममा हुने गरेको अराजक गतिविधिले समाजलाई अँध्यारो दिशातर्फ धकेलिरहेको पनि दावी गरे । निर्वाचनको संघारमा आएर पनि कांग्रेसको ढुलमुले प्रवृत्तिले अन्य दलहरुलाई नै सहज हँुदै गएको भन्दै नेता श्रेष्ठले कांग्रेसको राजनीतिप्रति सतर्क रहन सर्वसाधारणलाई अपिल पनि गरेका छन् ।
२०४२ सालमा कांग्रेस नेता डिल्ली सिटौलाबाट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएका श्रेष्ठ २०४६ को पंचायत विरोधि आन्दोलनमा अग्र मोर्चामा क्रियाशिल थिए । आन्दोलनको सफलतापछि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट साविक सुरुङ्गा वडा नं.३ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । तीन कार्यकाल नेपाली कांग्रेस साविक सुरुङगा गाउँसमितिको पार्टी सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
Comments