बिर्तामोडका २९ जना र शिवसताक्षीका ६ जना जनप्रतिनिधिले आज एकैदिन दिए राजीनामा
Published:
by .झापा । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका तथा आफ्नो दलले उम्मेदवार बनाउने छनक पाएका जनप्रतिनिधिहरुले हिजोआज धमाधम राजीनामा दिने लहर चलेको छ ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरे बमोजिम फेरि जनप्रतिनिधि बन्न बहालवालाहरुले राजीनामा दिएका हुन् ।
यही सन्दर्भमा आज बिर्तामोड नगरपालिकाका २९ जना जनप्रतिनिधिले पनि एकै दिन राजीनामा गरेका छन् । नगरपालिका कार्यालयका अधिकृत कर्मचारी मेघराज बाँस्तोला दिएको जानकारी अनुसार उपप्रमुख पवित्रा महतरा प्रसाईले नगरप्रमुख ध्रुवकुमार शिवाकोटी समक्ष राजीनामा पेश गरेकी छन् ।
यस्तै वडाध्यक्षहरु अग्निप्रसाद पाण्डे, नगेन्द्रप्रसाद संग्रौला, भोजराज सिटौला, कुलप्रसाद संग्रौला, राजेन्द्रप्रसाद लिङ्देन, सूर्यप्रसाद कन्दङवा, अजय कार्की र दूर्योधन गुरुङले पनि आजै राजीनामा पेश गरेका हुन् ।
नगर कार्यपालिका सदस्यहरु संगीता शिवा र गीता घिमिरे पोखरेलले पनि नगरप्रमुख समक्ष राजीनामा पत्र पेश गरेको बाँस्तोलाले बताए । नगरका वडा सदस्यहरु वडा नं. १ का प्रेम खरेल, यमुनादेवी आचार्य र कमला महरा, वडा नं. २ का किशोर पौडेल र वडा नं. ३ का पूर्णप्रसाद राजवंशीले पनि आजै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यसैगरी वडा नं. ४ का राहुलकुमार शर्मा, कविता डाँगी थापा र निर्मलादेवी ल्वागुन, वडा नं. ६ का पवित्रा कोइराला ढुंगाना, एनविन्द्र खत्री र शोभा विश्वकर्मा, वडा नं. ८ का इन्दिरा पाण्डे, गंगाालाल राजवंशी र लक्ष्मी नेपालीले पनि आफ्नो पदबाट राजीनामा लेखेका छन् ।
राजीनामा दिने अरु वडा सदस्यहरुमा वडा नं. ९ का हरिप्रसाद चौंलागाईं, वडा नं. १० का अर्जुन सिटौला, दिपिका शिवा र भक्तसिंह राजवंशी रहेका बाँस्तोलाले जानकारी दिए ।
आज राजीनामा गर्ने सबै जनप्रतिनिधिहरुले पुनः उम्मेदवारी दिने मनसायले पद छाडेको भए पनि कतिपयले आफ्नो दलसँग परामर्श नगरी लहैलहैमा राजीनामा दिएका देखिन्छ । आसन्न निर्वाचनमा आफ्नो दलले आफूलाई नै उम्मेदवार बनाउनु पर्छ भन्ने दवावका लागि पनि कतिपयले राजीनामा दिएको हुनसक्ने आंकलन गर्न सकिन्छ ।
यसैगरी शिवसताक्षी नगरपालिकाका ६ जना जनप्रतिनिधिहरुले पनि आज राजीनामा गरेका छन् । नगरपालिका कार्यालयका प्रशासन प्रमुख डिल्ली नेपालका अनुसार नगर उमप्रमुख भोजकुमारी नेपाल, वडाध्यक्षहरु वडा नं. ७ नविन इजम र वडा नं. ९ का छविलाल पाठकले राजीनामा पेश गरेका हुन् ।
यसैगरी वडा नं. ११ का वडा सदस्यहरु बहादुर आङ्गवो, प्रेम भुजेल र दलित महिला सदस्य जुनु मोहराले पनि राजीनामा दर्ता गरेका छन् । उम्मेदवार आकांक्षी जनप्रतिनिधिहरुले भोलि पनि राजीनामा दिन पाउने प्रशासन प्रमुख नेपालले जनाएका छन् ।
Comments