Sajhamanch Archive

नेकपा एमालेबाट झापाका पालिकाका प्रमुख उपप्रमुखमा को को उम्मेदवार ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

झापा । नेकपा एमाले प्रदेश कमिटीले झापाको विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ ।

प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार बिर्तामोड नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाइने छ ।

उपप्रमुखमा हाल वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको घिमिरेले जनाएका छन् ।

यस्तै दमक नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख गीता अधिकारीलाई उम्मेद्वार बनाइएको छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई नगरप्रमुखको उम्मेद्वार बनाउने निर्णय भएको घिमिरेले बताए ।

त्यसैगरी उपप्रमुखमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने पार्टीले निर्णय गरेको छ ।

एमालेले गौरादह नगरपालिकाको प्रमुखमा छत्रपति सुबेदी र उपप्रमुखमा जलवर्षा राजवंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रदेश इन्चार्ज घिमिरेले जनाए । नगरप्रमुखको उम्मेदवार बनाइएका सुवेदी हाल वडा नं ५ को वडाध्यक्ष हुन् ।

यसैगरी, भद्रपुर नगरपालिकाको प्रमुखमा पार्टी जिल्ला कमिटीका उपसचिव असारु राजवंसीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ भने उपप्रमुखमा कौशीला अधिकारीलाई अघि सारिको छ ।

नेकपा एमालेले कनकाई नगरपालिका प्रमुख र उपप्रमुखमा हालकै जनप्रतिनिधिलाई दोहोर्याउने भएको छ । प्रदेश इन्चार्ज घिमिरेका अनुसार नगरप्रमुखमा राजेन्द्र पोखरेल र उपप्रमुखमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको हो ।

यसैगरी,  शिवसत्ताक्षी नगरपालिकाको मेयरमा एमालेले रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

अर्जुनधारा नगरपालिकाको प्रमुखका लागि स्थानीय कमिटीले सर्वसम्मत नाम सिफारिस गरेका बलदेव सिंह गोम्देन र उपप्रमुखमा खड्गमाया पराजुली (इन्दिरा)लाई उम्मेदवार चयन गरेको प्रदेश इन्चार्ज घिमिरेले जनाए ।

यता बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा वर्तमान उपाध्यक्ष मिरा भूर्तेललाई उम्मेदवार बनाउने र उपाध्यक्षमा धरणीधर पोखरेललाई उम्मेदवार बनाइएको छ ।

यस्तै, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

कमल गाउँपालिकाको अध्यक्षमा भीम राई र उपाध्यक्षमा उषा भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाउने निर्णय गरको छ ।

कचनकवल गाउँपालिकामा नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गर्दै अध्यक्ष छाडेर एमालेले उपाध्यक्षमा नवराज भट्टराईलाई उम्मेदवार बनाएको छ ।

तीन जिल्ला बाहेक प्रदेश १ का प्रमुख उपप्रमुखको नाम एमालेले टुङ्ग्यायो

नेकपा एमालेले प्रदेश १ का तीनवटा जिल्ला बाहेक सबै जिल्लाका पालिकामा प्रमुख उपप्रमुखको उम्मेद्वारी टुंग्याएको छ ।

पार्टीका प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार सुनसरी, मोरङ र ओखलढुंगा जिल्लाका पालिकाहरुको उम्मेद्वारी टुंगिन बाँकी छ ।

यसैगरी झापाको हल्दिबारी गाउँपालिकाको पनि उम्मेद्वारी टुंगिएको छैन ।

आज साँझसम्ममा सबै पालिकाहरुको उम्मेद्वारी टुंग्याउने तयारी रहेको घिमिरेले जानकारी दिएका छन् । पार्टी प्रदेश कमिटीको बैठक बसिरहेकाले नाम टुङ्गो लगाउने क्रम निरन्तर रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *