तीन संस्थाको अनुकरणीय कार्यः अब झापाका विपन्न बालबालिकाले पनि कक्षा १२ सम्म छात्रवृत्तिमा पढ्न पाउने
Published: (Updated: )
by .झापा । अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरिएको छ ।
आज शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति घोषणा हो । सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको अपस्थितिमा जिल्लाका ७५ जना विद्यार्थीलाई छात्रवृत्ति घोषणा गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति पाउने विद्यार्थीसमेत उपस्थित थिए ।
झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो । कोषमा हालसम्म संस्थागत रुपमा १८ जनाले रकम प्रदान गरेका छन् ।
अमेरिकामा बस्नेसहित जापानमा बस्ने मेघराज नेपाल र इजरायलमा बस्ने दिपक ओली र झापा विकास मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले दुई लाख ५० हजारका दरले रकम प्रदान गरेका छन् ।
झापाली समाज युएसएले ८ हजार ८०० अमेरिकी डलर कोषमा प्रदान गरेको छ भने अध्यक्ष यमुना भट्टराईसहित संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालगायतले २ हजार २०० अमेरिकी डलरका दरले रकम जम्मा गरेका छन् ।
त्यस्तै, अमेरिकामा रहेका २३ जना झापालीले वार्षिक छात्रवृत्ति स्वरुप २०० अमेरिकी डलरका दरले समाजलाई
रकम हस्तान्तरण गरेका छन् ।
यसैबीच, झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको जनाइएको छ ।
तीनवटै संस्थाले दीर्घकालीन योजना अन्तर्गत यसवर्षबाट छात्रवृत्ति वितरण शुरु गरेको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ जना विद्यार्थीलाई जनही २१ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्ने गरी घोषणा गरिएको आफ्नो मन्तब्यका क्रममा झापाली समाज अमेरिकाका महासचिव निलम बिमलीले बताए ।
यसपटक छात्रबृत्ति पाउने विद्यार्थीले कक्षा १२ सम्म निरन्तर छात्रबृत्ति प्राप्त गर्ने जनाइएको छ । अब हरेक वर्ष थप विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गरिँदै जाने बिमलीले जानकारी दिए ।
छात्रवृत्तिका लागि जेहेन्दार र विपन्न समुदायका विद्यार्थी छनौट गरिएको जिल्ला संघले जनाएको छ । हाल कक्षा ३ देखि ७ सम्मका विद्यार्थीहरुलाई छात्रृृत्तिका लागि छनौट गरिएको जनाइएको छ ।
यसैबीच, सोही कार्यक्रममा झापाली समाज युएसएले नेपाल रेडक्रस सोसाइटी उपशाखा कुमरखोदलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको छ । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि रकम पठाइएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको छात्रवृत्ति घोषणामा मन्त्री सरावगी, समाजका अध्यक्ष भट्टराई, मञ्चका अध्यक्ष उप्रेती लगायतले छात्रवृत्तिको आवश्यकता र औचित्यका बारेमा मन्तब्य राखेका थिए ।
झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।
Comments