कनकाई नगरमा नेकपा एमालेको झाँकीसहित ४७ पदमा मनोनयन दर्ता
Published: (Updated: )
by .कनकाई । सुरुड्गा बजारमा सोमबार दिउँसो १२ बजे सूर्य चिन्ह अंकित झण्डा बोकेर एमालेका समर्थक तथा कार्यकर्ताहरु भेला भइरहेका थिए । मध्य दिनको चर्को घाममा पनि एक पछि अर्को गर्दै त्यहाँ एमालेका समर्थक थपिँदै गए । सयौं कार्यकर्ता केहीबेरमा नै भेला भए । भेला हुनुको मुख्य कारण थियो पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुको नाम घोषणा ।
सुरुड्गा बजारमा आधिकारिक नाम घोषणा गरेर उम्मेदवारलाई फूलमालाले अभिनन्दन गर्दै सामुहिक मनोननय गर्न निर्वाचन कार्यालय जाने कार्यतालिका अनुसार यहाँ एमालेका कार्यकर्ता तथा समर्थक भेला भएका थिए ।
नेपाली नैमती पञ्चेबाजासहित दिउँसो १ बजेबाट शुरु भएको छोटो औपचारिक कार्यक्रमको अध्यक्षता पार्टी नगर अध्यक्ष खड्ग प्रसाईले गरेका थिए । पार्टीको विभिन्न ओहोदामा रहेका नेता, कार्यकर्ता एवम् शुभेच्छुक र समर्थकहरुको उत्साहजनक सहभागिता रहेको उक्त घोषणासभामा नगरकमिटी अध्यक्ष खड्ग प्रसाईले नाम सार्वजनिक गरेका थिए ।
उम्मेदवारको नाम घोषणा पश्चात र्यालीसहित एमालेका नेता कार्यकर्ता मनोनयन दर्ताको लागि निर्वाचन कार्यालयमा कनकाई नगरपालिका कार्यालय पुगेका थिए । एमालेले कनकाईमा प्रमुखमा पुरानै नगरप्रमुख राजेन्द्र पोखरेल र उपप्रमुखमा पनि पुरानै उपप्रमुख मञ्जु प्रसाईको मनोनयनसहित ४७ जना उम्मेदवारको नाम मनोनयन गराएको छ ।
मनोनयपछि बोल्दै नगरको प्रमुख पदका उम्मेदवार राजेन्द्र पोखरेलले आफूले उम्मेदवारी दिनुको प्रमुख कारण जनताको माग र पार्टीको अनुरोध रहेको बताउँदै आफ्नो नगरले निक्कै महत्वपूर्ण कामहरु गरेको र आफूले थालेका कमहरु अधुरा रहेकोलाई सम्पन्न गरी समृद्ध नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा एमालेले मनोनयन दर्ता गराएका वडाध्यक्षका उम्मेदवारहरु १ मा सुशिलकुमार पोखरेल, २ मा बलराम राई, ३ मा युवराज चम्लागाई, ४ मा रोशन सुवेदी, ५ मा कृष्णबहादुर राई, ६ मा दीर्घबहादुर थापा, ७ मा प्रकाश शिवाकोटी, ८ मा प्रेमबहादुर कटुवाल र ९ मा राजेन्द्रप्रसाद उप्रेती रहेका छन् ।
Comments