अन्तिम नामावली प्रकाशनः कनकाईमा दुई स्वतन्त्रसहित नगरप्रमुखमा ७ जनाको प्रतिष्पर्धा
Published:
by .कनकाई । स्थानीय तह २०७९ को निर्वाचन कार्यतालिका अनुसार आज १६ गते उम्मेदवारी फिर्ता लिने अवधिमा नगरप्रमुख १, उपप्रमुख १, वडाध्यक्ष २, महिला वडासदस्य २, दलित महिला वडासदस्य २ र खुल्ला वडासदस्य पदमा उम्मेदवारी दिने ६ जनाले मनोनयन फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कनकाई नगरपालिकाले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सो कुरा सार्वजनिक भएको हो । यसअघि नगरप्रमुखमा मनोनयन दर्ता गराएका संघीय लोकतान्त्रिक पार्टीका बसन्त लिम्बू र उपप्रमुख पदमा मनोनयन दर्ता गराएकी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गीता चेम्जोडले उम्मेदवारी फिर्ता लिएका हुन् ।
आसन्न निर्वाचनमा कनकाईका ९ वटा वडामा ४३ जनाले वडाध्यक्षको उम्मेदवारी दिएकोमा २ जनाले मनोनयन फिर्ता लिएपश्चात ४१ जना वडाध्यक्षका प्रत्यासी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । महिला सदस्यमा २ जनाले उम्मेदवारी फिर्ता लिएपश्चात ४४ जना, दलित महिला सदस्यमा २ जनाले मनोनयन फिर्ता लिएपश्चात २९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
खुल्ला वडासदस्यहरुमा ७५ जनाको मनोनयन दर्ता भएकोमा ६ जना सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । नगरपालिकाका १८ जना खुल्ला वडासदस्य पदका लागि अब ६९ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
अन्तिम नामावली विवरण अनुसार कनकाई नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निवर्तमान नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, सत्ता गठबन्धनबाट रुद्र चिमरिया, राप्रपाबाट श्याम ओली, विवेकशिल साझा पार्टीबाट भीमप्रसाद अधिकारी, मौलिक जरोकिलो पार्टीबाट टंका उप्रेती तथा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा र देवीप्रसाद उप्रेतीको उम्मेदवारी कायम भएको छ ।
यसैगरी उपप्रमुखमा नेकपा एमालेको तर्फबाट निवर्तमान उपप्रमुख मञ्जु प्रसाई, सत्ता गठवन्धनको तर्फबाट आशा शर्मा शिवाकोटी, नेकपा एसबाट अम्बिका उप्रेती, राप्रपाबाट संचिता खनाल, विवेकशिल साझा पार्टीबाट अम्बिका चापागाई, मौलिक जरोकिलो पार्टीको तर्फबाट शान्ता दहाल र उन्नत लोकतन्त्र पार्टीबाट विन्दिया बराईलीले प्रतिस्पर्धा गर्दैछन् ।
कनकाई नगरपालिको मतदाता संख्या ३५ हजार ४७१ रहेको छ । जसमध्ये महिला १८ हजार १५४ रहेका छन् भने पुरुष मतदाताको संख्या १७ हजार ३१७ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । स्थानीय निर्वाचनको लागि कनकाईमा १२ वटा मतदान स्थल अन्तर्गत ४१ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यक्रम हो ।
Comments