Sajhamanch Archive

एमालेप्रति ज्येष्ठ नागरिकको आशा र आशीर्वाद

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

कमल । स्थानीय तहको निर्वाचनको संघारमा अहिले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् । विभिन्न उमेर समूहलाई विभिन्न आश्वासन देखाएर भोट मागिरहेका बेला नेकपा एमालेका उम्मेदवारहरु प्रति भने ज्येष्ठ नागरिकहरुको उच्च मोह देखिएको छ ।

कमल गाउँपालिकाका विभिन्न वडामा उम्मेदवारहरु भोट माग्न घरघर पुगिरहँदा ज्येष्ठ नागरिकहरुले आफूहरुको भरोस एमालेप्रति मात्र रहेको भन्दै उम्मेदवारहरु प्रति स्नेह प्रस्तुत् गरेका हुन् ।

ज्येष्ठ नागरिकको आशीर्वादः उम्मेद्वारमा उर्जा

नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भिम राई सामाजिक सुरक्षाको माध्यमबाट ज्येष्ठ नागरिकहरुलाई सम्मान र संरक्षण गर्ने पार्टी नेकपा एमाले मात्र रहेको ज्येष्ठ नागरिकहरुले बुझेको एमाले मोहले पुष्टि गरेको बताउँछन् । उनले भने ‘हामी पुग्दैगर्दा वृद्ध बुवाआमाहरु पनि हामीलाई नै पर्खिएर बसिरहेको पाउँछौं । उहाँहरुमा रहेको यो एमाले प्रतिको आशा र भरोसाले हामीलाई थप उर्जा दिएको छ ।’ दक्षिण एशियामा नै लोककल्याणकारी राज्य व्यवस्थाको अनुभूति दिलाएको एमालेको जग जनस्तरसम्म सबैभन्दा बलियो रहेको उनको भनाई छ ।

सामाजिक न्यायका लागि एमाले

ज्येष्ठ नागरिकहरुसँगै महिला, विपन्न परिवार, सुकुम्बासी, मजदुर तथा पछाडी पारिएको समुदायको सबैभन्दा बढी आशा एमालेप्रति रहेको पाइएको एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेद्वार प्रमिला न्यौपाने तिवारी बताउँछिन् । पञ्चायती व्यवस्थादेखि नै बामपन्थीको बलियो आधार क्षेत्र रहेको कमल गाउँपालिकाका सबै वडामा एमालेप्रतिको लहर उच्च देखिएको उनको भनाई छ ।

शैक्षिक तथा प्राज्ञिक व्यक्तित्व तिवारी पहिलो पटक भएको स्थानीय तहको निर्वाचन पछि स्थापित स्थानीय सरकारले गरेको कार्यसम्पादनले पनि एमालेको छवि उँचो बनाएको बताउँछिन् । एमालेको नेतृत्व स्थापित भएमा सामाजिक न्याय, सुशासन, विकास निर्माणमा तीब्रता, सबै प्रकारका विभेदको अन्त्य र आर्थिक विकास सम्भव छ भन्ने कुरा गाउँबासीले बुझिसकेकाले एमालेको जीत सहज रहेको उनले बताइन् ।


को को छन् उम्मेद्वार ?

७ वटा वडा रहेको कमल गाउँपालिकामा एमालेले पार्टीका जिल्ला कमिटी सदस्य भिम राईलाई अध्यक्ष र गाउँ कमिटी सदस्य तथा शैक्षिक युवा महिला व्यक्तित्व प्रमिला न्यौपाने तिवारीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

यस्तै वडा नं. १ मा श्यामबहादुर कार्की, २ मा धनबहादुर बस्नेत, ३ मा अग्निप्रसाद कोइराला, ४ मा चन्द्रप्रसाद भट्टराई, ५ मा खगेन्द्र तिवारी, ६ मा नरेन्द्र भट्टराई र ७ मा पृथ्वीपति राई वडाध्यक्षका उम्मेद्वार बनेका छन् ।

वडासदस्यमा शिवाकोटी

कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी यसपटक भने वडा नं. ६ बाट वडा सदस्यको उम्मेदवार बनेका छन् । साविक लखनपुर गाविसको समेत दुई कार्यकाल उपाध्यक्ष भइसकेका शिवाकोटी एमाले प्रदेश कमिटीका सदस्य पनि हुन् । पार्टीको निर्देशन तथा स्थानीय आवश्यकता अनुसार वडा सदस्यमा उम्मेदवारी दिएको उनले बताएका छन् । पञ्चायतकालिन समयदेखि प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका उनी कमल गाउँपालिकामा लोकप्रिय नेताको रुपमा स्थापित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *