Sajhamanch Archive

‘स्थानीय तहमा एमालेले बर्चस्व राख्छ’ : अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह, by .

भद्रपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी दोहोर्याएका छन् ।

झापाका विभिन्न पालिकाहरुमा मंगलबार भएका छुट्टाछुट्टै चुनावी सभाहरुमा अध्यक्ष ओलीले एमालेले स्पष्ट नीति तथा कार्यक्रमहरु लिएर जनतामाझ पुगेकाले आफ्नो पार्टीले बर्चश्व कायम गर्ने दावी गरेका हुन् ।

जिल्ला सदरमुकाम भद्रपुरमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी भद्रपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले सिर्जना गरेको विकासको लहर देखेर एमालेप्रति आकर्षण र विश्वास अझ बढेको बताए । आममतदाताले सूर्य चिन्हमा मतदान गर्ने र भद्रपुरसहितका स्थानीय तहमा पुनः एमालेको बर्चस्व कायम हुने दाबी गरे ।

भद्रपुरको वडा नं ३ अन्तर्गत रहेको ज्ञानेचोकमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले नेकपा एमालेप्रतिको जनलहर र उत्साह देखेर आत्तिएका सत्तासीन गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेको तर त्यो गठबन्धन पनि एमालेका अगाडि नटिक्ने उद्घोष गरेका थिए ।

सो समारोहमा नेकपा एमाले भद्रपुरको चुनावी प्रतिबद्धता सार्वजनिक पनि गरिएको थियो । कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भद्रपुरमा आफ्नो नेतृत्वको सरकार र एमालेका जनप्रतिनिधिहरुको स्पष्ट बहुमत रहेकाले भद्रपुर नगरपालिकामा धेरै महत्वपूर्ण अयोजनाहरु सम्पन्न भएको बताए । भद्रपुरको इतिहासलाई जीवन्त राख्नेखालका योजनाहरु अघि बढिसकेको बताउँदै एमाले अध्यक्ष ओलीले नगरको प्रमुख पदका उम्मेदवार युवा नेता असारु राजवंशीको नेतृत्वमा ती योजना पूरा हुने विश्वास व्यक्त गरे ।

भद्रपुर नगरपालिकामा जीवनकुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिहरुले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु, सामाजिक, रोजगार, सूचना–प्रविधि, मानव संसाधन, विपद् व्यवस्थापन लगायत क्षेत्रमा गरेका उपलब्धिलाई संस्थागत गरिनुपर्ने वक्ताहरुको भनाई छ । पार्टीका उपाध्यक्ष एवम् तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, स्थायी कमिटी सदस्य तथा पूर्व कानून मन्त्री अग्नि खरेल, स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा प्रदेश १ का सहइन्चार्ज, पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सदस्य दुर्गा प्रसाईं, संविधानसभा सदस्य जीतु गौतम, संविधानसभा सदस्य हरि राजवंशी, नगरप्रमुखका उम्मेद्वार असारु राजवंशी, उपप्रमुख उम्मेद्वार कौसिल्या अधिकारी लगागतले उक्त घोषणापत्र संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै नगरप्रमुखका उम्मेदवार असारु राजवंशीले भद्रपुर नगरपालिकाको पुरानो साखलाई जीवन्त बनाउन यसअघिको नेतृत्वले अघि बढाएका कामहरुलाई निरन्तरता दिँदै नयाँ कामहरुको थालनी गर्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएको नेकपा एमालेलाई मत हालेर विजयी गराउन आह्वान गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *