बिर्तामोडमा अधुरा कामहरु पूरा गर्न एमालेका उम्मेदवारले जित्नुपर्ने : नगरप्रमुख उम्मेदवार महतारा
Published:
by .झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने दोहोर्याएकी छन् ।
स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३ मा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नगरप्रमुख उम्मेदवार प्रसाईले २०७४ सालको निर्वाचन पछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको र यसलाई अझै व्यवस्थित ढंगले विकास गरिने पनि बताइन् ।
निवर्तमान नगर उपप्रमुख प्रसाईले आफूहरु जनप्रतिनिधि भएर आउँदा सरकारी विद्यालयहरुमा विद्यार्थीहरु बसेर पढ्न सक्ने किसिमका कक्षा कोठाहरु थिएनन्, शौचालयको अभाव, पठनपाठनमा समस्या रहेको अवस्थाबाट सुधार गरेर अहिले स्मार्ट बनाउँदै लगिएको सुनाइन् ।
बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय र ३ वटा धार्मिक विद्यालय रहेका छन् । नेकपा एमालेले कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निःशुल्क गर्ने, एक विद्यालय एक प्राविधिक शिक्षा भन्ने नीतिलाई आत्मसाथ गर्दै हरेक सामुदायिक विद्यालयको माध्यमिक तहमा प्राविधिक शिक्षा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । योसँगै प्राविधिक तथा व्यवसायिक क्याम्पस स्थापना गर्ने, शिक्षक तालिम केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमहरु प्रतिवद्वता पत्रमा सार्वजनिक गरेको छ ।
स्वास्थ्य तर्फ पनि बिर्तामोडबासीलाई स्वस्थ जीवन शैली सुनिश्चित गर्न सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै मेडिकल हवको रुपमा विकास गर्ने एमालेको प्रतिवद्धता छ ।
कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले यसअघि धेरै राम्रा काम गरेको बताउँदै ६९ किलोमिटर सडक कालोपत्रे गरेको, बजार तथा ग्रामिण भेगका अधिकांश टोलहरु जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा व्लक लगाइएको जानकारी गराए । संग्रौलाले अबको ५ वर्षमा बिर्तामोडमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने समेत बताउनु भयो ।
कोणसभालाई सम्बोधन गर्दै बिर्तामोड ३ बाट वडाध्यक्ष पदका उम्मेदवार मदन बुढाथोकीले आफू यही गाउँठाउँमा जन्मे हुर्केको मान्छे भएकाले अधिकांश परिवारका समस्याहरुमा आफ्नो साथ र सहयोग रहँदै आएको स्मरण गराए ।
राजनीतिसँगै समाजसेवाको माध्यमबाट आफूले स्थानीयको समस्यामा समाधानका लागि आवश्यक सहयोग पुर्याएकाले आफूसहित नगरकोे सिङ्गो टिमलाई सूर्यमा मतदान गरी अत्यधिक मत दिएर जिताउन आग्रह गरे । वडामा रहेका समस्या समधानका लागि आफू सधैं जनताको सेवक भएर काम गर्ने उनको प्रतिवद्वता थियो ।
नेकपा एमालेको चुनावी प्रचार अभियानका क्रममा मंगलबार बिर्ताबजार, सैनिकमोड, प्रगतिनगर टोल, शान्ति टोल लगायतका क्षेत्रमा पुगेर कोणसभाको आयोजना गरिएको थियो । कोणसभाहरुलाई एमाले झापा इञ्चार्ज अग्नि खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
Comments