Sajhamanch Archive

बाह्रदशीमा सत्तारुढ गठबन्धनको प्राथमिकतामा कृषि क्षेत्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

बाह्रदशी । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार तथा नेता–कार्यकर्ता मतदाताको घरघरमा मत मागिरहेका छन् ।

विभिन्न एजेण्डा लिएर यतिबेला मतदाताकोमा जाने उम्मेदवार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका उम्मेदवारले कृषिलाई प्राथमिकतामा राखेर आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

कृषिमा आधारित जनताको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएकाले कृषिलाई वैज्ञानिक कृषि प्रणालीमा रुपान्तरण गर्नेदेखि जैविक मल उद्योग स्थापना गर्नेसम्मका प्रतिबद्धता गठबन्धनले अघि सारेको छ ।

अग्र्यानिक कृषि उत्पादनमा जोड, तरकारी खेतीलाई आधुनिकीकरण गर्दै टनेल खेतीको विकास गर्ने, राजगढ, चकचकी र डाँगीबारीमा तरकारीको थोकबजार स्थापना गर्ने, खेत–खेतमा पोल, कित्ता–कित्तामा सिंचाई कार्यक्रमको नारा पनि बनाएको छ ।

कृषि मल, बीऊ, वितरणमा सहजीकरण गर्ने, प्रत्येक वडामा कृषि प्राविधिक र प्रविधि केन्द्र स्थापना गर्ने, कृषि बीमा अन्तर्गत कृषकलाई बाली बीमा गर्न लगाउने जस्ता कार्यक्रम अघि सारिएको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

पशुपालनतर्फ उन्नत जातका पशु ५० प्रतिशत अनुदानमा वितरण गरिने, प्रत्येक वडामा पशु प्राविधिक र पशु स्वास्थ्य केन्द्र स्थापना गरिने लगायत छन् ।

शिक्षातर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने, सामुदायिक विद्यालयसहित धार्मिक, सिकाई केन्द्र, सार्वजनिक पुस्तकालयहरुको भौतिक पूर्वाधार व्यवस्थापन गरिने उल्लेख छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गरी अंग्रेजी र कम्प्युटर शिक्षालाई अनिवार्य लागू गर्ने घोषणा गरिएको छ ।

प्रत्येक सामुदायिक बिद्यालयमा क्रमशः स्कूल बसको व्यवस्थापन गर्ने र गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थापनका लागि क्याम्पस स्थापना गर्ने लगायत छन् । कक्षा ११÷१२मा अध्ययनरत् निम्न बर्गीय विद्यार्थीलाई साइकलको व्यवस्थापन गर्ने सत्तारुढ गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न प्रोत्साहन गर्ने, प्रत्येक सामुदायिक विद्यालयमा खेलकुदलाई प्रोत्साहन तथा व्यवस्थापन गर्ने, गाउँपालिकाभित्र राष्ट्रियस्तरको खेलकुदको बृहत्तर विकास गर्ने लगायतका प्रतिबद्धता अघि सारिएको छ ।

गठनबन्धन दलले २४ वटा बुँदागत प्रतिबद्धता सार्वजनिक गरेको हो । पाँच वर्षभित्र उच्चस्तरीय कालोपत्रे सडक निर्माण गर्ने, प्रत्येक गाउँ तथा घरलाई सडक सञ्जालसँग जोड्न पहल गर्ने, बजारी क्षेत्रमा ढल निकासको व्यवस्थापन गर्ने, दुव्र्यसनमुक्त बाह्रदशी, भयरहित बाह्रदशी, युवा शक्तियुक्त बाह्रदशी बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने योजनाहरु बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *