Sajhamanch Archive

भद्रपुरमा गठबन्धन दलको चुनाव प्रचार अभियान तीब्र बनाइँदै

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

भद्रपुर । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका सत्तारुढ दलहरूको गठबन्धनले प्रचार प्रसारलाई तीव्र पारेका छन् ।

झापा सदरमुकाम तथा नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको भद्रपुर नगरको समृद्धिको खाकासहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको संयुक्त गठबन्धनले नगरका १० वटै वडामार्फत समय तालिका मिलाएर प्रचारप्रसार तीव्र गतिमा बढाएकोे जनाइएको हो ।

घरदैलो कार्यक्रम अन्र्तगत नगरबासीको घरघरमा भेटघाट गरिरहेका नगरप्रमुखका उम्मेदवार गणेश पोखरेलले प्रशासनिक पारदर्शिताका लागि फजुल खर्च अन्त्य गरेर विकास निर्माणका लागि इमान्दार बन्ने बाचा गरेका छन् ।

जनप्रतिनिधि विलासी जीवनमा जान नहुने अठोटसहित साधारण जीवन शैलीको माध्यमबाट भद्रपुरबासीको सेवामा जुट्ने बचन दिएका पोखरेलले विभेद रहित सेवा प्रवाहलाई पहिलो प्राथमिकता बनाएका छन् ।

यस्तै उपपमुख पदका उम्मेदवार शिवकुमार राजभण्डारीले भद्रपुरको विकासका लागि प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै नगर भित्र हुने भ्रष्टाचार तथा चुहावट रोकेर नगरबासीको जीवनस्तर उकास्न प्रतिबद्ध रहने बताएका छन् ।

विकट र सुगम बस्तीको जीवनस्तर समान बनाउन समावेशी सहकार्यको सिद्धान्त अपनाउने भन्दै राजभण्डारीले नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाउने आश्वासन पनि दिए ।

१० वटा वडा रहेको भद्रपुरमा साझा गठबन्धनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शिक्षालाई उच्च प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था गरिने, सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा क्रमिक रूपमा निःशुल्क गर्दै लैजाने प्रतिबद्धता गरिएको छ ।

भद्रपुर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रलाई एमबिबिएस डक्टरको सेवासहित सबैको भरोसायुक्त एवम् प्रविधियुक्त अस्पतालको रूपमा विकास गर्ने, कृषि, पशुपालन, उद्योग लगायत क्षेत्रमा दीर्घकालिन नीति बनाएर समृद्ध भद्रपुरको सपना साकार पार्ने गठबन्धनका उम्मेदवारहरूले नागरबासीसित प्रतिबद्धता गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *