गठबन्धन नतोड्न थेवेको निर्देशन
Published:
by .अर्जुनधारा । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको दावी गर्दै इमान्दारीपूर्वक पालना गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन गरेका छन् ।
गठबन्धन दलका तर्फबाट अर्जुनधारा नगरपालिकाका लागि प्रमुखका उम्मेद्वार रञ्जिता कार्की, उपप्रमुख पदका उम्मेद्वार जितेश योन्जन, १० नम्बर वडाध्यक्षका उम्मेद्वार नारायण तामाङ एवं वडा सदस्यहरुको घरदैलो कार्यक्रममा पुगेका सभापति थेवेले १० नं. वडामा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो निर्देशन गरेका हुन् ।
नेपाली कांग्रेस एवं गठबन्धन दलका उम्मेद्वारका विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिने बागी उम्मेद्वार एवं तिनका समर्थक र प्रस्तावकहरुका विरुद्ध पार्टीको विधान बमोजिम केन्द्रीय समितिले कारबाही प्रक्रिया अघि बढाइसकेको उनको भनाई छ ।
गठबन्धन दलबीच भएको राजनीतिक सहमति कार्यान्वयनका लागि कार्यकर्तालाई आग्रह गर्दै उनले नेपाली कांग्रेसको विधान–२०१७ (संसोधनसहित) धारा–४ को उपधारा–१३ (ग) बमोजिम बागी उम्मेद्वारको सदस्यता स्वतः खारेज हुने ब्यवस्था रहेको जानकारी गराए ।
गठबन्धन दललाई अत्यधिक बहुमतका साथ विजयी गराउन मतदातासमक्ष अपील गर्दै सभापति थेवे गठबन्धनका तर्फबाट अहिले गरिएका प्रतिबद्धताहरु सबै गाउँ÷नगरमा पूरा गरेर देखाउने आश्वासन पनि दिएका थिए ।
Comments