Sajhamanch Archive

भद्रपुरको समृद्धिका लागि नगरप्रमुखका सबै प्रत्यासीको समान प्रतिबद्धता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । स्थानीय तह निर्वाचनमा नगरप्रमुख पदमा भद्रपुरमा उम्मेदवारी दिएका ७ वटा दलका प्रत्यासीहरुले समृद्ध भद्रपुर नगरका लागि समान प्रतिबद्धता जाहेर गरेका छन् ।

भद्रपुर जेसीजको आयोजनामा सम्पन्न सार्थक बहसमा सहभागी उम्मेदवारहरूले झापाको सदरमुकामसमेत रहेको भद्रपुर नगरपालिकाको उन्नतिका लागि उम्मेदवारी दिएको दाबी गर्दै सातै दलका प्रमुख पदका उम्मेदवारले समृद्ध भद्रपुरको प्रतिबद्धता जाहेर गरेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका अशारू राजवंशीले मागेर देश चलाउने भिखारीपन अन्त्य गर्दै भद्रपुरको समृद्धिको खाका कोर्ने प्रतिबद्धता राखे । उनले नेकपा एमालेकै कारण भद्रपुर नगरमा कालोपत्रे सडकले गाउँ बस्ती जोडेको भन्दै पूँजीवादी दलाल प्रवृत्ति रोक्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे ।

नेपाली काँग्रेसका तर्फबाट गठबन्धनको नेतृत्व गर्दै प्रत्यासी रहेका गणेश पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारी प्रवर्धन मार्फत भद्रपुरको उन्नति पथ निर्माण गर्ने प्रतिबद्धता राखे । उनले नगर सरकारका नाममा हुने चुहावट, फजुल खर्चजस्ता आर्थिक विचलन रोकेर गरिव, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति, दीर्घरोगीको उपचारका लागि आर्थिक सहयोग लगायत नागरिकका जनजीवन सामान्य अवस्थामा ल्याउन सक्ने गरी विज्ञ समूहसहित कार्ययोजना लागू गर्ने सुनाए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर प्रमुखको दावी गरिरहेका नवराज पनेरूले आफ्नोपन सहित युवा युवतीको विदेश पलायन रोकेर नगरको उन्नतिका लागि उद्योग, व्यापारको वातावरण निर्माण गर्ने प्रतिबद्धता राखे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नगर प्रमुख पदका उम्मेदवार समरकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनका प्रमुख पदका प्रत्यासी इन्द्रकुमार सुहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार यमबहादुर लिम्बूलगायतका उम्मेदवारहरुले आ–आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए ।

भद्रपुर जेसीजका अध्यक्ष मनोज भट्टराईको अध्यक्षता तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष उत्तर चापाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण निवर्तमान अध्यक्ष खिलनाथ पाण्डेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *