बिर्तामोडलाई फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने नगरप्रमुखका उम्मेदवारहरुको उद्घोष
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवारहरुले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।
बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ विशेष योजना लागू गर्ने दाबी पनि गरेका छन् । उनीहरुले भौतिक पूर्वाधारसंगै सम्भावना बोकेका क्षेत्रको विकास गर्न नसक्दा बिर्तामोडले हासिल गर्नुपर्ने विकासको गति समात्न नसकेको स्वीकार गरेका छन् ।
नेकपा एमालेबाट नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले आफ्नो पहिलो योजना बिर्तामोडलाई व्यापारिक र मानवीय दुवै हिसाबले सुरक्षित बनाउनु रहेको बताइन् । उनले बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गरेर व्यापारीलाई निर्धक्क व्यापार व्यवसाय गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
नगरपालिकाले कर प्रणालीलाई अझै पूर्णरुपमा व्यवस्थापन गरिनसकेकाले आफ्नो कार्यकालमा उद्योगी, व्यवसायीको हितमा हुनेगरी कर प्रणालीको व्यवस्थापन गर्ने नगरप्रमुख पदमा एमालेबाट उम्मेदवार बनेकी प्रसाईले बताइन । उनले नगरभित्र पर्यटनको सम्भावना बोकेका पोखरी, पार्कलाई व्यवस्थित गरेर पर्यटनबाट आम्दानी, बेरोजगारलाई रोजगारी सिर्जना गर्ने बताइन् । डोमालाल राजवंशी रंगशालालाई बृहत्त रंगशालाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनको भनाई छ ।
नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनबाट नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले बिर्तामोडबासीको जीवनस्तर सुखी बनाउने योजनाहरु लागू गर्ने आफ्नो योजना रहेको बताए । उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरबासीको पहुँच र सेवा पुर्याउने बताए ।
उनले नगरभित्रै निःशुल्क डायलासिसको व्यवस्था मिलाउने बताए । विज्ञ नियुक्त गरेर नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने, डोमालाल राजवंशी रंगशाला निर्माण गरी बिर्तामोडलाई खेलकुदको क्षेत्रबाट पनि पहिचान बनाउने कार्यक्रम ल्याउने सिटौलाको भनाई छ ।
यस्तै, राप्रपाबाट उम्मेदवार बनेका ध्रुवकुमार उप्रेतीले आफ्नो मुख्य एजेण्डा बिर्तामोड नगरपालिकालाई वडास्तरसम्मै भ्रष्टाचारमुक्त बनाउने रहेको बताए । १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने, सबैको पहुँचमा पुग्नेगरी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम लागू गर्ने जनाउँदै उप्रेतीले विज्ञसंग सल्लाह गरेर अन्धुवा खोलाको उचित व्यवस्थापन गर्ने तथा व्यापारीलाई करमा छुट, विद्युतमा छुट र ढुवानीमा समेत छुटको व्यवस्था गर्ने बताए ।
जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उदय गुरुङले बिर्तामोडको फोहोरमैला व्यवस्थापन गर्न त्यति गाह्रो नभएकाले आफू निर्वाचित भए तत्काल उक्त काम गर्ने दावी तेर्साए । उनले बिर्तामोड नगरपालिकाभित्र सबै जातजाति, भाषाभाषीको सहज पहुँच हुने अवस्था सिर्जना गर्ने बताए ।
नेपाल परिवार दलबाट मेयरका उम्मेदवार केदार ढुंगानाले बिर्तामोडलाई आवश्यक विकास निर्माण हुन नसकेकाले आफू उम्मेदवार बनेको बताए । उनले बिर्तामोडको १० वटै वडाको समग्र विकास गर्ने योजनासाथ चुनावी मैदानमा होमिएको बताए ।
आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार मनकुमार खुदाङ लिम्बूले बिर्तामोड व्यापारिक महत्व बोकेको नगर भएकाले व्यापारिक क्षेत्रबाट नमूना सिटीको रुपमा विकास गर्ने योजनासाथ आफू उम्मेदवार बनेको बताए ।
मौलिक जरोकिलो पार्टीका उम्मेदवार प्रज्वल अधिकारी शर्माले बिर्तामोडलाई नगरको अभिभावकीय निकायका रुपमा विकास गर्न आफू उम्मेदवार बनेको बताए । उनले नगरपालिकाको सही व्यवस्थापन हुन नसक्दा नगरभित्रको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका सेवाहरु प्रभावकारी र जनमुखी बन्न नसकेको बताए ।
यस्तै स्वतन्त्र उम्मेदवार नगेन्द्र अधिकारीले बिर्तामोडमा स्रोत साधन भएर पनि आशातित विकास निर्माणको काम नभएको देखेर आफू उम्मेदवार बनेको बताए । उनले आफू मेयर पदमा निर्वाचित भए सबै पक्ष र क्षेत्रलाई समेटेर बिर्तामोडलाई रुपनान्तरण गरी नमूना बनाउने बताए ।
छलफलमा सहभागी सबै उम्मेदवारले वैशाख ३० को निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, उत्साहजनक सहभागितामा सम्पन्न गर्न तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहितको पूर्ण पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् ।
Comments