नेकपा एसबाट मेचीनगर १० को वडाध्यक्ष उम्मेद्वार खरेल एमालेमै फर्किए
Published:
by .मेचीनगर । मेचीनगर वडा नं. १० मा वडाध्यक्ष पदको उम्मेदवारी दिएका कृष्णप्रसाद खरेल नेकपा एकीकृत समाजबादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा खरेलले एकीकृत समाजबादीको उम्मेदवारीसमेत फिर्ता लिएको घोषणा गरे । खरेलले एकीकृत समाजबादीमा केही समय लागेकोमा आफूलाई पछुतो भएको समेत बताएका छन् ।
उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, प्रदेश सदस्य राजु कार्की, नगर अध्यक्ष राजु पोखरेल, जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख गोपाल काफ्ले लगायतले पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरेका हुन् ।
उनले जारी गरेको प्रेस वक्तब्यमा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्दै एकीकृत समाजबादीको उम्मेदवारी फिर्ता लिएको उल्लेख छ ।
उनले नेकपा एकीकृत समाजबादी पार्टी कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारबाट स्खलित भई नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनलाई जिताउने र मुलुकमा सामाजिक रुपान्तरणका लागि दशकौंदेखि संघर्षरत नेपाली कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गर्ने षडयन्त्रमा लागेको स्पष्ट भएपछि आफूले सो पार्टी परित्याग गर्नु परेको वक्तब्यमा उल्लेख गरेका छन् ।
मेचीनगरबासी आमाबुवा, दिदीबहिनी र दाजुभाइहरुलाई नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गोपाल बुढाथोकी, उपप्रमुखको उम्मेदवार मीना उप्रेती र वडा नं. १० को वडाध्यक्ष पदको उम्मेदवार नारायण खनाल लगायतलाई अत्याधिक बहुमतले जिताउन सूर्य चिह्नमा मतदान गरिदिन खरेलले अपील पनि गरेका छन् ।
वडा नं. १० का मतदातामा खरेलको राम्रो पकड र प्रभाव छ । उनको एमाले प्रवेशले वडामा नेकपा एमालेका उम्मेदवारहरुको जीत सुनिश्चित भएको नेकपा एमाले मेचीनगर १० का चुनाव परिचालन कमिटीका संयोजक कमल मिश्रले बताएका छन् ।
नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक रविन कोइरालाले निर्वाचन अभियानबारे धारणा राख्दै पार्टीले मसिनो गरी मतदातालाई भेटेको, मतदाता शिक्षा प्रवाह गर्दै भोट माग्नेक्रम लगभग पूरा भएको जनाए ।
सम्भव भएमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरेर वा कोही प्रभावशाली केन्द्रीय नेताहरुलाई आमन्त्रण गरेर वैशाख २७ गते धुलाबारी चोकमा चुनावी सभा गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
चुनावी अभियानमा नेकपा एमालेले कहीँ कतै पनि आचारसंहिता उल्लंघन नगरेको तर प्रतिद्वन्द्वीहरुले धेरै स्थानमा आचारसंहिताको धज्जी उठाएको उनको भनाई छ ।
Comments