कचनकवलमा गठबन्धन दलहरु प्रचारप्रसारको अन्तिम चरणमा
Published:
by .कचनकवल । स्थानीय तह निर्वाचनका लागि कचनकवल गाउँपालिकाकामा सहकार्य गरिरहेका नेपाली काँग्रेस र नेकपा एमाले दलहरूले पहिलो चरणको घरदैलो सम्पन्न गर्दै अन्तिम चरणका लागि प्रचार प्रसारलाई तीब्र पारेका छन् ।
आदिवासी बाहुल्य ऐतिहासिक पहिचान बोकेको कचनकवलकोे समृद्धिको खाकासहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस र नेकपा एमालेको सम्युक्त गठबन्धनले गाउँपालिकाका सबै वडा र टोलहरूमा मतदातासमक्ष भेटघाट गर्दै मतदानका लागि प्रचारप्रसार गरेका हुन् ।
स्थानीय तहको गत निर्वाचन २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले बहुमत जनप्रतिनिधि जितेको कचनकवलमा जनताका पक्षमा काम नगरी राजनीतिक चलखेलमात्र गरेर समय बिताएको आरोप लगाउँदै स्थानीय स्तरमा कांग्रेस र एमालेले गठबन्धन गरी उम्मेदवारी दिएका छन् ।
घरदैलो कार्यक्रम अन्र्तगत गाउँबासीका घरघरमा भेटघाट गरिरहेका अध्यक्षका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशीले प्रशासनिक पारदर्शितासहित भष्टाचार शून्य नीति लिएर विकास निर्माणका लागि इमान्दार रहने बाचा गरेका छन् ।
जनप्रतिनिधिले विभेद रहित सेवा दिने वातावरण निर्माण गरी कृषिको समुन्नति र प्राविधिक शिक्षाको माध्यमबाट नागरिकको जीवनशैली उकास्ने गरी आफ्नो कार्यकालमा सेवा प्रवाहमा जुट्नेसमेत अध्यक्षका उम्मेदवार राजवंशीले बचन दिएका छन् ।
कृषि उपजको सहज बजारीकरण, अन्न बाली तथा पशु बीमा कार्यक्रम कार्यान्वयनलाई गठबन्धन दलले पहिलो प्राथमिकता बनाएका छन् ।
यस्तै उपप्रमुखका उम्मेदवार नवराज भट्टराईले कचनकवलको विकासका लागि भ्रष्टाचार रहित सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै शक्तिका आडमा भइरहेका चुहावट रोकेर गाउँबासीको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विकट बस्तीको जीवनस्तर उकास्न समावेशी सहकार्यको सिद्धान्त अपनाउने भन्दै भट्टराईले गउँ प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाएर नागरिककोे कामलाई सहज ढंगले सम्पादन गर्ने बाचा गरेका छन् ।
३० हजार २२१ मतदाता रहेको कचनकवलमा ७ वटा वडामा विभाजित छ । यहाँको समृद्धिका लागि साझा गठबन्धनले शिक्षा, स्वास्थ्य, कृषि विकास, रोजगारी सिर्जना र युवा उद्यमशीलताका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
कचनकवल क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रलाई दक्ष जनशक्ति सेवासहित सबैको भरोसायुक्त एवम् प्रविधियुक्त अस्पतालको रूपमा विकास गर्ने, कृषि, पशुपालन, उद्यम विकास लगायत क्षेत्रमा दीर्घकालिन नीति बनाएर समृद्ध गाउँपालिकाको सपना साकार पार्ने गठबन्धनका उम्मेदवारहरूले मतदातासित प्रतिबद्धता गरेका छन् ।
यस्तै गठबन्धनले निर्वाचनमा मतपत्र बदर हुन नदिनका लागि टोल टोलमा निर्वाचन शिक्षा प्रभावकारी बनाउन दक्ष स्वयम सेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गरिरहेको छ ।
निर्वाचनमा सहकार्य गरिरहेका दलका सबै उम्मेदवारलाई विजयी गराउन मतदान प्रकृयाबारे नागरिक स्तरमा मतदान शिक्षाका लागि टोल टोलमा पुगेर प्रचार प्रसारलाई तीब्र पारेको निर्वाचन परिचालन समितिले जनाएको छ ।
Comments