स्थानीय तह निर्वाचन २०७९ः मतदान उत्साहजनक, ठाउँ ठाउँमा झडप र मतदान स्थगित
Published:
by .झापा । स्थानीय तह निर्वाचनको आज मुख्य दिन, देशका ७५३ वटै पालिकामा एकसाथ भइरहेको मतदान कार्यका बीच छिटपुट घटनाहरु पनि भएका छन् । विभिन्न स्ञ्चारमाध्यमहरुमा प्रकाशित प्रसारित समाचारअनुसार रौतहट जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ ।
उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।
यस्तै गढीमाई नगरपालिका–६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको ।
यस्तै रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद देखिएको प्रहरीले जनाएको छ ।
यस्तै हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।
इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।
खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।
झडप भएसँगै मतदान प्रक्रिया रोकिएको छ । ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी छ ।
यसैबीच, सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको हो ।
मतदान स्थगितको औपचारिक निर्णय भने हुन बाँकी छ । ‘त्यहाँ मतपत्र छरिएको छ । सबै मतपत्र बटुल्दा पनि असन्तुष्ट पक्षले विश्वास गर्ने र फेरि मतदान चालु गरेर आजै टुंग्याउने अवस्था रहेन’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ । मतदान आज सम्भव हुँदैन ।’
सूचना निकालेर त्यो मतदान केन्द्रमा निर्वाचन स्थगित गरी फेरि छिट्टै मतदान गर्नुपर्ने हुन्छ ।
एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद शुरु भएको हो ।
Comments