Sajhamanch Archive

दमक नगरपालिका वडा नं. १ मा एमालेको प्यानलै विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

दमक । दमक नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार हरि न्यौपानेसहित चारैजना वडासदस्यहरु विजयी भएका हुन् ।

मत परिणाम अनुसार वडाध्यक्षका उम्मेदवार न्यौपानेले १ हजार ६८६ मत ल्याएर विजयी भए भने राप्रापासहितको गठबन्धनका वडाध्यक्ष उम्मेदवार तारा अधिकारीले १ हजार ६२४ मतमात्र प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित न्यौपानेले गठबन्धनका उम्मेदवारभन्दा ६२ मत बढी पाएर विजयी भएका हुन् ।

यसैगरी महिला वडा सदस्यमा तारा खपतरीले १ हजार ७१४ मत र दलित महिला वडा सदस्यमा नविना मोहोराले १ हजार ७१५ मत प्राप्त गरी विजयी भएका छन् ।

दमक वडा नं. १ को खुला सदस्यमा रघुवीर बुढाथोकीले १ हजार ६५८ मत र राजकर्ण राईले १ हजार ६१२ मत ल्याएर विजयी भएको जनाइएको छ ।

दमक वडा नं. १ झापाको तेस्रो मत परिणाम प्राप्त गर्ने वडा हो । यसअघि बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ भने भद्रपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलै विजयी भइसकेको छ ।

राप्रपाको गढ मानिएको दमक वडा नं १ को मत गणना सकिँदा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत र कांग्रेस–राप्रपा–माओवादी गठबन्धनका राम थापाले १ हजार ६४८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुख पदमा कांग्रेस–राप्रपा–माओवादी गठबन्धनका उम्मेदवार रेगिना भट्टराई प्रसाईंले १ हजार ६४० मतसहित अग्रता कायम गरेकी छन् भने नेकपा एमालेका अम्बिका खनालले १ हजार ५०९ प्राप्त गरेका छन् । प्रसाइले खनाललाई १३१ मतले अग्रता लिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *