Sajhamanch Archive

भद्रपुर वडा नं. २ मा काँग्रेस गठबन्धनको वडाध्यक्ष तर वडासदस्यहरु ४ जना नै एमालेका

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, साहित्य by .

भद्रपुर । स्थानीय तह निर्वाचन अन्तर्गत सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार भद्रपुर नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरको पछिल्लो विवरण अनुसार कँडेलले १ हजार ३०९ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर सुब्बाले १ हजार ७० मत प्राप्त गरेका छन् । अर्का प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार रामबहादुर राई ८८६ मतमा सिमित भए । सुब्बा निर्वतमान वडाध्यक्ष समेत हुन् भने कँडेल नेपाली काँग्रेस भद्रपुरका सभापति हुन् ।

यसैगरी महिला वडा सदस्यमा नेकपा एमालेकी ममता लिम्बू १ हजार १२१ मतका साथ विजय भइन् । उनको निकटतम् प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार भिममाया राईले ९४७ मत पाएकी थिइन् भने नेकपा एसकी मिरा तामाङले ८६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै दलित महिला वडा सदस्यमा एमालेकी उम्मेद्वार देवीका बसेल १ हजार १३४ मतका साथ विजय भइन् भने निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसकी सुनिता खातीले १ हजार ३० र राप्रपाका उम्मेद्वार सुमित्रा दर्जीले ९२६ मत पाएकी छन् ।

यस्तै खुल्ला वडा सदस्यमा एमालेका द्रोणप्रसाद कोइराला १ हजार १०६ मत र लिलादास निरौलाले १ हजार ८५ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरु दुवैका निकटतम् प्रतिस्पर्धी राप्रपाका सविन मगरले ९८५ मत र गोपाल गिरीले ९५७ मत पाएका थिए ।

यसैगरी दुईवटा वडाको मत परिणाम अनुसार नगरप्रमुख पदमा नेपाली कांग्रसका उम्मेदवार गणेश पोखरेलले २ हजार ३४७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका असारु राजवंशी ५६९ मत पछि रहँदै १ हजार ७७८ मतका साथ पछ्याइरहेका छन् । राप्रपाका नवराज पनेरु १ हजार ६१५ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले २ हजार १५४ मतका साथ अग्रतालाई कायम राखेका छन् । एमालेका उम्मेदवार कौशिल्या अधिकारीले १ हजार ७०१ मत र राप्रपाका राधा कार्की १ हजार ६५७ मतका साथ पछ्याइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *