Sajhamanch Archive

कांग्रेसको झुठो आरोपप्रति एमाले मेचीनगर–९ वडा कमिटीको आपत्ति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । स्थानीय तहको चुनावका दिन नेपाली कांग्रेस मेचीनगर–९ को खुट्टीडाँगी वडा सम्पर्क कार्यालयमा लक्ष्मी पाठक लगायतको समूह पसेर निर्वाचन सामग्री र नगद ८० हजार लुटेर लगेको आरोपका विषयमा नेकपा एमाले वडा कमिटीले आपत्ति जनाएको छ ।

एमाले वडा कमिटी मेचीनगर–९ ले आज सोमबार एक विज्ञप्ती प्रकाशित गरी सो विषयमा कांग्रेस वडा निर्वाचन परिचालन समितिका संयोजक रुद्र रोक्का लगायतले हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा निर्वाचन आचारसंहिता विपरीत कांग्रेसका कार्यकर्ताहरुबाट मतदान केन्द्रमा नै मतदातालाई नमूना मतपत्र वितरण गरिरहेको प्रति पटक–पटक रोक्न आग्रह गर्दा समेत बेवास्ता गर्दै जवरजस्ती गरेको र प्रहरी प्रशासन समेत मौन देखिएको कारण एमाले पार्टीका कार्यकर्ताहरुले गलत गतिविधि रोक्न उक्त सामग्री नष्ट गर्न बाध्य बनाएको उल्लेख छ ।

कांग्रेसका कार्यकर्ताहरुबाट निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेकोप्रति विरोध र प्रतिवाद गर्दा नगद ८० हजारसमेत लुटेको झुटो आरोपप्रति एमालेले खेद व्यक्त गरेको छ ।

एमाले मेचीनगर–९ नम्बर वडा कमिटीका अध्यक्ष कमलमणि पौडेलको हस्ताक्षर रहेको विज्ञप्तीमा सो घटनामा व्यक्तिगत आग्रह र पूर्वाग्रह साँचेर व्यक्तिको चरित्र हत्या गर्ने ढंगबाट भएको आरोप र प्रचारवाजी तत्काल रोक्न सम्बन्धित पक्षलाई सचेतसमेत गराएको छ ।

सम्पर्क कार्यालयमा प्रवेश गरेको विषयप्रति सांगठनिक आत्मा सम्मानमा ठेस पुगोस भन्ने हामी कसैको ध्येय होइन र यो नियोजित घटना पनि होइन, आकस्मिक रुपमा घटेको घटनाले कांग्रेस पार्टीप्रतिको सम्मानमा प्रभाव पारेकोमा चाहिँ एमालेले दुःख व्यक्त गरेको छ ।

रकम लुटिएको आरोप सम्बन्धित राजनीतिक संगठनबाट नै खण्डन गरी फिर्ता लिएको र सर्वपक्षीय छलफल भई सहमतिसमेत भइसकेको हँुदा अनर्गल प्रचार नगर्न एमालेका वडाध्यक्ष पौडेलले अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *