सिम्रिक साकोस प्रविधिमा फड्को मार्दै, थपियो मोवाइल बैंकिङ सेवा
Published:
by .बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि सदस्यहरुको कारोबार सहजताका लागि मोवाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बिर्तामोडमा जेठ ७ गते शनिबार आयोजित विशेष कार्यक्रमका बीच संस्थाले मोवाइल एप लञ्चिङ गरेको हो । संस्थाले मोवाइल बैंकिङ सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता र औचित्यबारे प्रष्ट्याउँदै कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले भनेका छन्, ‘२०६८ सालमा संस्था सुरु गर्दा आफूहरुले सदस्यसँगकाृ वित्तीय कारोबारलाई रजिष्टरमा इन्ट्री गर्ने गरिन्थ्यो । क्रमशः प्रविधिमा विकास भयो र संस्थाले पनि नयाँ प्रणालीमा प्रवेश गर्दै अब मोवाइल बैकिङ सुरू गरिएको हो । प्रविधि आयो अब सुखका दिन आए, प्रविधिमा प्रवेश गर्दा कागजी ढड्डा त रोकियो तर हाम्रा सबै कारोबार हावामा उडिरहेको छ । त्यहाँनेर हामी अत्यन्तै चनाखो हुनुपर्ने भएको छ ।’
उनले हालको सफ्टवेयरमा बेलाबखत एउटा शाखाको हिसाब अर्कोमा पोष्टिङ भइरहेको अवस्थामा परिवर्तन गर्दै आएका छौं । प्रविधिमा गढबढी भएको अवस्थामा प्राविधिकहरुको टिमले पक्कै ट्र्याकमा ल्याउनेछ भन्ने विश्वास व्यक्त गरे । कार्यकारी प्रमुख बस्नेतले प्रविधिको उच्चतम् प्रयोग गर्दै आफ्ना शेयर सदस्यको सुविधालाई ध्यानमा राखेर मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बताए । एम बैंकसँगको सहकार्यमा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको बताउँदै उनले गुगल प्लेस्टोरबाट ‘सिम्रिक मोवाइल एप’डाउनलोड गरी मोबाइल बैंकिङ सुविधा लिन सकिने जानकारी पनि दिए ।
संस्थाका उपाध्यक्ष किरण कपुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनशक्ति विभाग प्रमुख मिनबहादुर अधिकारीले आमन्त्रितहरुलाई शाब्दिक स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा एम बैंकका विजनेस अफिसर संजय महासेठले संस्थाका कर्मचारीलाई ‘सिम्रिक मोवाइल एप’ डाउनलोड गरी लिन सकिने मोबाइल बैंकिङ सुविधाको बारेमा प्रशिक्षण दिएका थिए । उनले ‘सिम्रिक मोवाइल एप’मा इ–सेवाका युटिलिटी सर्भिसहरु समावेश भएकाले एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा चलाउन मिल्ने पनि बताए ।
‘सिम्रिक मोवाइल एप’ बाट सदस्यहरुले बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल, इन्टरनेट, टिभी महशुल, इन्श्योरेन्स प्रिमियम, हवाइ टिकटका साथै मोवाइल टपअप र रिचार्ज गर्न सकिने, बैंकमा समेत पैसा ट्रान्सफर अन्य बैंक तथा वित्तीय संस्थासँग फन्ड ट्रान्सफरको सुविधा, विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट सिस्टम) आधारभूत बैंकिङ सुविधा लिन सकिने एम बैंकका विजनेस अफिसर महासेठले बताए ।
‘सिम्रिक मोवाइल एप’बाट संस्थाका प्रत्येक शेयर सदस्यले संस्थाको कार्यालयमा नगएर पनि आफ्नो खातामा रहेको मौज्दात रकमबारे जानकारी लिन सकिने, खाताको विवरण हेर्न सकिने, आफ्नो खाताको रकम अर्को खातामा सार्न सकिने, रकम झिक्दा तथा जम्मा गर्दा मोबाइलमा जानकारी आउने सुविधा रहेको महासेठले बताए ।
‘सिम्रिक मोवाइल एप’ मार्फत मोबाइल बैंकिङ सेवाका लागि सदस्यहरुले आफू सदस्य रहेको कार्यालयमा गएर मोबाइल बैंकिङ सेवाका लागि प्रकृया पूरा गरे पश्चात सेवा प्राप्त गर्न सकिने जनाइएको छ । त्यस्तै सदस्यहरुलाई ‘सिम्रिक मोवाइल एप’ चलाउन, बुझ्न र डिजिटल भुक्तानी प्रक्रियामा जोडिन सुझाव दिइएको छ ।
सिम्रिकका सेयर सदस्यहरुले बचत कारोबार गर्न घरमै बसीबसी ‘सिम्रिक मोवाइल एप’ मार्फत मोबाइल बैंकिङ सेवा लिन सक्ने र यसो गर्दा समयको समेत बचत हुने भएकाले मोबाइल बैंकिङ सेवा शेयर सदस्यका लागि उपयोगी हुने उनले बताइएको छ ।
सिम्रिक साकोसभन्दा पहिले झापाका एनएमसी, सहारा नेपाल, कर्णाली साकोस, मेची सहकारी लगायतले मोवाइल बैंकिङ सेवा प्रवाह गरिरहेका छन् ।
Comments