Sajhamanch Archive

बोयर बाख्रामार्फत समृद्धि जोड्दै हल्दिबारीका खेमराज

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, by .

भद्रपुर । नेपाली समाजले कृषि र पशुपालन व्यवसायलाई उन्नत कार्यका रूपमा हेर्दैन । यी दुई व्यवसाय नै देशका समृद्धि हुन् भन्ने नबुझ्ने हाम्रो समाजमा कृषि र पशुपालनको माध्यमबाट समृद्धिको यात्रा तय गर्न सकिन्छ भन्ने हिम्मत कमैले लिएका हुन्छन् । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकांश नेपाली युवा सुनौलो भविष्यको खोजीका लागि परदेशको माटोमा दौडन्छन् । अधिकांश युवा स्वदेशमा अवसर र सुनौलो भविष्य नदेखेर विदेश मोहमा दौडेका हुन् । तर, आफ्नै जन्मभूमिमा बसेर भविष्य सुनौलो बनाउन सकिने सोच पालेका थोरै युवाहरूको रगत पसिना समृद्ध नेपालका लागि ईंटा सावित भएका केही नमूना पनि छन् । यस्ता परिश्रमी युवाका सफलताका कथा बिरलै सुन्न र देख्न पाइन्छ ।

तिनै केही युवाको सूचिमा परेका छन् झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ का ४२ वर्षीय खेमराज वन । उनले ४ वर्षदेखि सञ्चालनमा ल्याएको उन्नत बाख्रा पालन व्यवसायलाई नमूनाका रूपमा हेर्न सकिन्छ । स्थानीय जातका बाख्राबाट व्यवसाय सुरू गरेका वनले विसं २०७४ सालबाट उन्नत नश्ल पहिचान गरेका हुन् । ९ वटा शतप्रतिशतका बोयर जातका बाख्रा र एउटा शतप्रतिशतको बोयर बोकाबाट वनले उन्नत बाख्रा पालन सुरू गरेको बताउँछन् । उनले आफ्नो व्यवसाय बढाउँदै वार्षिक ७० लाख रुपैयाँभन्दा बढीको कारोबार हुँदै गरेको बताएका छन् ।

उनका उमेरका अधिकांश व्यक्ति देश छोडेर विदेशमा रोजगारीमा छन् । उनलाई पनि बाख्रा पालन सुरू गर्दा आफन्त तथा साथीभाइले उँभो नलाग्ने व्यवसाय भनेर निरुत्साहित गर्नेको लामै ताँती थियो । तर स्वदेशमै बसेर केही न केही व्यवसाय मार्फत समृद्धिको बाटो बनाउने सपना पालेका वनले कृषिभित्र पर्ने पशुपालनको माध्यम समातेर चार वर्षमा उन्नतिको पथ निर्माण गरिसकेका छन् ।

वन कृषि फर्म नाम दिएर स्वरोजगार गरिरहेका खेमराज परम्परागत शैलीभन्दा केही भिन्न विधि अपनाएर उन्नत बाख्रा पालनमा जुटेको दावी गर्छन् । उनले घाँस र दाना दुवैमा आधारित बाख्रापालन गरिरहेका छन् । १३० वटा बाख्रा रहेको उनको फार्ममा आफू बाहेक ३ जनाको पूर्ण रोजगारी सुनिश्चित भएको जानकारी दिन्छन् । अहिले उनका फार्ममा ५० प्रतिशत ७५ प्रतिशत, ८७ प्रतिशत, ९३ प्रतिशत र शत प्रतिशत गरी विभिन्न श्रेणीका उन्नत बोयर जातका बाख्रा, पाठा र बोकाहरु छन् ।

राज्यबाट आशातित सहयोग नपाएका खेमराजले आफ्नो फार्ममा उत्पादित पाठापाठीको प्रतिशतका आधारमा मूल्य निर्धारण गरेर बेच्ने गरेको बताउँछन् । स्थीर बजारीकरणको माध्यम नभएका कारण सम्पर्क माध्यमबाट बजारीकरण गरिरहेका उनलाई पछिल्लो समय खोजेका बेला कामदार नपाएको तीतो अनुभूति पनि छ । घरदैलोको स्थानीय सरकारको समेत नजर नपरेको उनको बाख्रापालन व्यवसाय आफ्नै बलबुताको प्रयासमा चलिरहेको छ ।

उनको व्यवसायिक फर्ममा नियाल्ने हो भने कृषि र पशुपालनमा भविष्य नदेख्नेका लागि मेहनत गरे उन्नति गर्न सकिने उदाहरण समेत बनेको देख्न सकिन्छ । उनी आफ्नै देशमा बसेर पनि राम्रो उन्नति गर्न सकिने बताउँदै नाम र दाम कमाउन विदेश धाउनु नपर्ने धारणा राख्छन् । गाउँ सरकारबाट बाख्राका लागि उपचार गर्नु पर्दा प्राविधिक सहयोग पाइरहेको बताउने वन उच्चस्तरको उपचार सेवा प्रवाहको अवस्था भने नरहेको बताउँछन् ।

एउटा व्यक्तिको प्रयासमा पनि व्यवसायिक उन्नतिले समाज रूपान्तरणमा छिटो गति लिने विश्वास राख्ने जो कोहीका लागि वन कृषि फर्म नमूना बाख्रापालन व्यवसाय बन्न सक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *