पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, एलपी ग्याँस प्रतिसिलिन्डर १८००
Published: (Updated: )
by .झापा । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सरकार अधिनस्त व्यवसायिक प्रतिष्ठान नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरेको हो ।
अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ बनाइएको छ । खाना पकाउने एलपी ग्यासमा २०० रुपैयाँ बृद्धि गर्दै १८०० पुर्याइएको छ ।
नेपाल आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने ग्याँस प्रति सिलिन्डरमा ८७९ रुपैयाँ ७५ पैसा घाटा भइरहेको बताएका छन् ।
मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ । मट्टितेलमा प्रतिलिटर २२ दशमलव ११ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १३ दशमलव ८९ रुपैयाँ र हवाई इन्धन बाह्यमा ५९ दशमलव ८१ रुपैयाँ नाफा रहेको निगमले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आन्तरिक हवाई इन्धनमा पनि प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेर १६६ पुर्याइएको छ । यससँगै वायुसेवा संचालक संघले हवाई भाडादर पनि बढाउन सक्ने आँकलन गरिएको छ । यो मूल्य आज राति १२ बजेपछि बाट लागू हुनेछ ।
Comments