बिर्तामोडका जनप्रतिनिधिले सपथग्रहण पछि सम्हाले पदभार
Published: (Updated: )
by .बिर्तामोड । वैशाख ३० गते भएको मतदानबाट निर्वाचित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले आज सपथग्रहण पछि पदभार ग्रहण गरेका छन् । नगरपालिका कार्यालयको प्राङ्गणमा भएको सपथग्रहण पछि जनप्रतिनिधिहरुले औपचारिक रुपमा आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
सपथग्रहण समारोहमा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । यसअघि आजै नगरप्रमुख प्रसाईले झापा जिल्ला अदालतका न्यायाधीश तथा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिएकी थिइन् ।
पदभार ग्रहण गर्दै नगरप्रमुख प्रसाईले २ वटा निर्णय गरेको जनाइएको छ । निम्न वर्गका जनताको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने र ५ वर्षभित्रमा नगरपालिकाको कृषि भूगोलमा पर्याप्त सिँचाईको व्यवस्था गर्ने निर्णय गरिएको उनले बताएकी छन् ।
सपथग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकले उत्पादन गरेका कृषि सामग्रीहरुको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशिलतालाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेकोले उत्पादनका लागि सिंचाईको व्यवस्था गरिने घोषणा गरेकी हुन् ।
सपथग्रहण समारोहका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा झापा जिल्ला इञ्चार्ज अग्निप्रसाद खरेल, संविधानसभाका सदस्य मनकुमार गौतम, नरेश खरेल, अमृतलाल राजवंशी, राष्ट्रियसभाका पूर्वसदस्य डिल्लीप्रसाद सिटौला, हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की, जसमाया गजमेर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।
Comments