Sajhamanch Archive

शासक होइन जनताको सेवक बन्ने कनकाईका जनप्रतिनिधिको प्रतिवद्धता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

कनकाई । स्थानीय तह निर्वाचन २०७९ मा झापाको कनकाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार प्रमाणपत्र हस्तान्तरणका साथै सपथग्रहण गराइएको छ ।

कनकाई नगरपालिकाका निर्वाचन अधिकृत दिपक कोइरालाले नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीसहित नौवटै वडाका वडाअध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

नवनिर्वाचित नगरप्रमुख पोखरेलले जिल्ला अदालत झापाको सभाहलमा मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमबाट सोमबार नै सपथ लिएका थिए । उनले सपथग्रहण गरेर पालिका आएपछि उपप्रम्ख शिवाकोटीसहित वडाध्यक्ष र सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

कनकाई नगरपालिका प्रमुखमा नेकपा एमालेका तर्फबाट निर्वाचित पोखरेलले दोस्रो कार्यकालको जिम्मेवारी प्राप्त गरेका हुन् । पदभार ग्रहण गर्दै नगरप्रमुख पोखरेलले कनकाईको समृद्धिका लागि स्रोत साधनले भ्याएसम्म नगरलाई समुन्नत बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

सम्पूर्ण राजनीतिक दलहरुको सल्लाह र सुझावलाई सम्पत्तिका रुपमा ग्रहण गर्दै आगामी दिनमा कनकाईको २० वर्षे रणनीतिक योजनाका आधारमा पाँच वर्षे आवधिक योजना कार्यक्रम सम्पन्न भइसकेको नगरप्रमुख पोखरेलले जानकारी दिए । आगामी दिनमा योजना तर्जुमा गर्दा सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने नगरप्रमुख पोखरेलको प्रतिवद्धता छ ।

यस्तै कनकाई नगरपालिकाका नवनिर्वाचित उपप्रमुख आशा शर्मा शिवाकोटीले आगामी दिनमा न्याय सम्पादनको क्षेत्रलाई छिटो, छरितो र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । शिक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने बताउँदै उपप्रमुख शिवाकोटीले निवर्तमान उपप्रमखसँग सहकार्य गरेर कार्य सम्पादन गर्ने पनि बताइन् ।

कनकाई नगरपालिाकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले स्वागत तथा कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य हिराकुमार थापा, निवर्तमान उपप्रमुख मन्जु प्रसाई, नगरप्रमुख र उपप्रमुखका प्रत्यासीहरु, निवर्तमान नगर प्रवक्ता गोविन्द पौडेललगायत स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुको कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *