कमलका नवनिर्वाचित जनप्रतिनिधि मतदातासँग खुशियाली साट्दै गाउँगाउँमा
Published:
by .कमल । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी बनेका उम्मेदवारहरु गाउँगाउँमा मतदाताको घरमा पुगेर खुशीयाली बाँढ्दै विजयी उत्सव मनाइरहेका छन् । यो कमल गाउँपालिकाको खबर हो, जहाँ विजयी उम्मेदवारहरु विजय उत्सव मनाउँदै मतदाताको घरघरमै पुगेर धन्यवाद दिइरहेका छन् भने अग्रजहरुबाट शुभकामना र आशीर्वाद पनि लिइरहेका छन् ।
हिजो निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाणपत्र लिएसँगै उनीहरु विजयोत्सवमा सहभागी थिए । विजयोत्सवमा रहँदा नवनिर्वाचित जनप्रतिनिधिहरुले दलभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
गठबन्धनका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्षका उपविजेता पर्शुराम सुवेदी, वडा नम्बर १ का वडाध्यक्ष केदार कटुवाल, २ का अशोक सुब्बा, ५ का लालबहादुर विष्ट, वडा सदस्यहरु लगायतले मतदाताको घरघरमा पुगेर धन्यवाद दिँदै अग्रजहरुबाट आशीर्वाद लिएका हुन् ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित राईले भने, ‘हिजोसम्म आफूहरु आआफ्नो पार्टीको घोषणापत्र लिएर पार्टीको झण्डाको साथमा आफ्नो चुनाव चिह्नमा मतदान गर्नुहोस् है भन्दै मतदाताको घरघरमा पुग्यौं । अहिले निर्वाचित भइसकेका छौं र अब हामी कुनै एउटा दलको मात्र नभएर सम्पूर्ण कमलबासी जनताको अभिभावक भएका छौं । त्यसैले अब अग्रजहरुबाट सल्लाह सुझाव लिँदैं सबै जनाताको भावनालाई बुझेर अगाडि बढ्ने छौं ।’
कमल गाउँपालिकामा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारहरु तथा तिनको मातृपार्टीले कमल ५ मंगलबारेबाट विजय उत्सवसहित र्याली सुरु गरेको थियो । र्यालीले कमल गाउँपालिकाका प्रमुख बजारहरु केर्खा, क्याम्पा, सुनारा, सरङ्गपाडा, सोलमारी, बाँसबारी, समयगढ, गेउरिया, बाह्रघरे, पाडाजुँगी हुदै कमल ५ सिम्लेमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कमल गाउपालिकाको विभिन्न भूगोलमा पुगेको विजय र्यालीको अघिपछि दर्जनौं सञ्चारकर्मीको सहभागिता थियो ।
सोही सन्दर्भमा विजयी उम्मेदवारहरुलाई मतदान गर्ने विभिन्न भूगोलका मतदातासमक्ष नवनिर्वाचित जनप्रतिनिधिहरुसँग तपाईंको अपेक्षा के हो भनी हामीले सोधका छौं ।
ज्ञानेन्द्र आचार्यः हरेक निर्वाचनमा जनताले अमूल्य भोट दिएर उम्मेदवारलाई जिताउँछौं तर विजयी भएका प्रतिनिधिहरुले जनताको भवना कहिलै बुझेनन् । यो पटक पनि त्यति ठूलो आशा चैं गरेको छैन तर अघिल्लो स्थानीय सरकारभन्दा केही पृथक हुन्छ कि भन्ने लागेको छ ।
सन्तोष अधिकारीः अहिलेसम्म जनप्रतिनिधि बनेर जो आएपनि पुरानै सोच र विचारका आधारमा काम गरेकाले जनताले त्यसलाई परास्त गर्दै यो पटक युवालाई नेतृत्व हस्तान्तरण गरेका छन् । अब निर्वाचित जनप्रतिनिधिले सकारात्मक सोच र नविनतम विचारका साथमा सबैको भावना समेटेर अगाडि बढ्न आवश्यक छ ।
हेम दाहालः शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा नवनिर्वाचित जनप्रतिनिधिले ध्यान दिन अवश्यक छ । युवाका लागि स्वदेशमै केही गर्नसक्ने वातावरण बनाउनेतर्फ जनप्रतिनिधिहरु लाग्न आवश्यक छ ।
कुलचन्द्र आचार्यः पछिल्लो समय देशमा विकास र समृद्धिको खाँचो छ । यसका लागि वातावरण बनाउने काम जनप्रतिनिधिको हो, उहाँहरुले यसतर्फ ध्यान दिन आवश्यक छ । साना मसिना कुराभन्दा पनि दीर्घकालिन योजनातर्फ जनप्रतिनिधिको ध्यान जान आवश्यक छ ।
Comments