Sajhamanch Archive

काम थाले बिर्तामोडका जनप्रतिनिधिहरुलेः वडाको बजेट सिलिङ १ करोड १५ लाख

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाका १० वटै वडालाई आर्थिक वर्ष २०७९/०८० मा नगर कार्यपालिकाले एक करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

सबै वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा कार्यपालिकामा पेश गरेका योजनाहरुका लागि उक्त सिलिङको बजेट प्रवाह गरिने निर्णय भएको जनाइएको छ । बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा रहने योजना अनुगमन समितिमा कार्यपालिकाको तर्फबाट वडानम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी र वडानम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवालाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।

उक्त बैठकले नगरप्रमुख प्रसाईले पदभार ग्रहणका क्रममा गरेको दुईवटा निर्णयलाई पनि अनुमोदन गरेको छ ।

बिर्तामोड नगरभित्र रहेका सम्पूर्ण गरिब तथा असहाय परिवारहरुको मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बीमा गरी बिपन्नहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र नगर क्षेत्रभित्र रहेका सम्पूर्ण खेतीयोग्य जमिनहरुमा स्यालो ट्युवेल, कुलो तथा पैनीहरुको निर्माण गरी ५ वर्षभित्रमा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्ने निर्णयलाई अनुमोदन गर्दै नीति तथा कार्यक्रम बनाएर आगामी आर्थीक वर्षको वजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय भएको जनाइएको छ ।

बैठकले बिर्तामोड नगरपालिकामा रहेका सवारी साधनहरु ग्रेडर, रोलर, जेसिभी, ट्रिपर र पानी ट्याङ्करको नयाँ भाडादर पनि कायम गरेको छ ।

बैठकमा चालु आर्थिक वर्ष २०७८/०७९को कुल वार्षिक वजेट एक अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएकोमा वैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्यय मध्ये चालु तर्फ ३३ करोड ४० लाख ८५ हजार र पुँजीगत तर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ व्यय भएको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।

आजको बैठकले २०७४ सालको स्थानीय निर्वाचनबाट बिर्तामोड नगरपालिकामा निर्वाचित भएर २०७९ साल जेठ ५ गतेसम्म कार्य गर्ने जनप्रतिनिधिहरुलाई विकास र समृद्विमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेको छ ।

यस्तै स्थानीय तह निर्वाचन २०७९ को मतगणना अवधिको लागि कर्मचारीहरुलाई दिइएको विदा र दुर्गा माध्यमिक विद्यालय बिर्तामोड ९ गरामनीका शिक्षक दुर्गाप्रसाद निरौलाको गत चैत्र २० गते सडक दुर्घटनामा परी निधन भएकोले २१ गते बिर्तामोड नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा दिइएको शोक विदाको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *