मेचीनगरका विजयी उम्मेदवारले पाए प्रमाणपत्र, बिहीबार सपथ ग्रहण
Published: (Updated: )
by .मेचीनगर । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । बुधबार निर्वाचन कार्यालयले मेचीनगर नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर वैशाख ३० गते सम्पन्न चुनावबाट निर्वाचित ७७ जना जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
निर्वाचन अधिकृत वेदराज फुयालले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, १५ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, निर्वाचन अधिकृत फुयालले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले गरेका थिए । कार्यक्रममा निर्वाचन कार्यालयले इलाका प्रहरी कार्यालय काँकरभिट्टा डिएसपी ज्ञानकुमार महतो, धुलाबारी प्रहरी प्रमुख अनिल मावोहाङलाई सम्मान गरेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले विहीबार दिउसो १ वजे जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिए ।
नगरप्रमुख बुढाथोकीले भद्रपुरस्थित मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट सपथ लिनेछन् । बुढाथोकीले सपथ लिएपछि उनले उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ खुवाउने दाहालले बताए ।
Comments