बिउवा संघको १६ बुँदे नीति तथा कार्यक्रमः पत्रकार भट्टराई र पाण्डे पुरस्कृत
Published:
by .बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोड कार्यक्षेत्र बनाएका झापाका दुईजना पत्रकारलाई नगद पुरस्कारसहित आज सम्मान गरेको छ । संघको पाँचौं वार्षिक साधारणसभा उद्घाटन समारोहमा पत्रकारहरु केशव भट्टराई र बिनोद पाण्डे सम्मानित भएका हुन् ।
सम्मानित हुने पत्रकारहरु मध्ये भट्टराई कञ्चनजङ्घा एफएमका समाचार प्रमुख हुन् भने पाण्डे आमसञ्चार डटकमका समाचार प्रमुख तथा सञ्चालक हुन् । पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालले दोसल्ला ओढाएर नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले १६ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका थिए । उनले भद्रपुर रोडमा रहेको डिभाइडरमा फूल वगैँचा लगाउने घोषणा गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घको अग्रसरतामा भद्रपुर रोडमा राखिएको डिभाइडर एरियामा फूल बगैँचा बनाउने उनको घोषणा छ ।
साधारणसभामा संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिवाकोटीले बिर्तामोडको सौन्दर्यीकरण अभियानमा सहकार्य गर्न आफूहरु तयार रहेको जिकिर गरेका हुन् । ‘नगरपालिकासँग सहकार्य गरी हरियाली बिर्तामोड बनाउने योजना अघि बढाउँछौँ, विभिन्न स्थानमा विरुवा रोपण र संरक्षणको काम गर्ने हाम्रो योजना हो’ उनले बताए ।
उद्योग वाणिज्य संघले बजार क्षेत्रमा सडक वत्ती विस्तार योजनामा पनि नगरपालिकासँग सहकार्य गर्ने योजना रहेको सिवाकोटीले बताए । ‘भएका ठाउँमा कतिपय वत्ती बिग्रिएका छन्’ उनले भने, ‘नभएका ठाउँमा नयाँ जडान गर्ने र बिग्रिएका ठाउँमा मर्मत गर्ने काम पनि अघि बढ्छ ।’
स्थानीय सरकार तथा सुरक्षा निकायसँगको समन्वयमा बिर्तामोडमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गर्ने अध्यक्ष सिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
Comments