चरपानेका गिरी दम्पत्तीले दिए अपाङ्ग बृद्धालाई व्हील चेयर
Published:
by .अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ निवासी तथा सहारा नेपाल चारपानेका कर्मचारी राजु गिरी र उनकी पत्नी मिनादेवी गिरीले २५औं वैवाहिक वर्षगाँठका दिन एक अपाङ्ग बृद्धालाई व्हील चेयर प्रदान गरेका छन् ।
अर्जुनधारा–५ का गिरीले सवारी दुर्घटनामा परी दुवै खुट्टा गुमाएकी ६०वर्षीया दिलमाया राईलाई मंगलबार व्हील चेयर हस्तान्तरण गरेका हुन् । एउटा अपाङ्गलाई सहयोग गर्न पाउँदा धेरै खुसी र मनमा शान्ति महसुस भएको गिरी दम्पतीको भनाई छ ।
सबैले जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता उत्सवमा गरिने फजुल खर्चलाई अपाङ्ग असाहय, गरिवलाई सहयोग गर्नुपर्ने गिरी दम्पत्तीको सुझाव छ । गिरी दम्पत्तीले अपाङ्ग बृद्धा राईलाई घरमै गएर व्हील चेयर प्रदान गरेका हुन् ।
गिरी दम्पतीले अपाङ्गलाई व्हील चियर दिएर उदाहरणीय कार्य गरेको अपाङ्ग बृद्धा राईका भाइ भिम राईले बताए । गिरी दम्पतीजस्तै मनकारीहरुले अपाङ्ग, असहाय, गरिवलाई सहयोग गर्ने हो भने समाज रुपान्तरणमा ठूलो सहयोग मिल्ने भिमको बुझाई छ ।
२ वर्षअघि बिर्तामोड–१ चारपाने छेउमा भएको ट्रक दुर्घटनामा परी दुवै ख्ट्टा काटिएपछि कान्छा छोरासँग शिवसताक्षी नगरपालिका–१ धरमपुरमा बस्दै आएकी बृद्धा राई हाल अर्जुनधारा–५ स्थित साइँली छोरी मैना राईको घरमा बस्दै आएकी छिन् ।
दुवै खुट्टा काटिएपछि ओछ्यानमै बस्नु पर्ने बाध्यतालाई सम्झिदै बृद्धा राईले भनिन् ‘अहिलेसम्म हिंडडुल गर्न मन लागे पनि सम्भव थिएन, तर, अब नाती नातिनाको सहयोगले व्हील चेयरबाट यताउता हिडडुल गर्न सक्छु होला ।’
उनले व्हील चेयर पाएपछि गिरी दम्पतीलाई आशीर्वाद तथा धन्यवाद दिएकी छिन् । समाजमा सबैले राजु र मिनाको जस्तै सामाजिक भावना राखेर अरुको मद्धत गर्नु पर्ने अपाङ्ग बृद्धाको सुझाव छ ।
Comments