Sajhamanch Archive

बिर्तामोडमा किसान सूचिकरण सम्बन्धी तालिम

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका, कृषि पशुपन्छी तथा मत्स्य विकास शाखाले मंगलबारदेखि सञ्चालन गरेको किसान सूचिकरण सहजकर्ता तालिम आज सम्पन्न भएको छ । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबारदेखि कृषकको घरघरमा गएर तथ्याङ्क संकलन गर्ने कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिएका छन् ।

बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ का तीन हजार २०० घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो । संघीय सरकारको सशर्त अनुदान अन्तर्गत रहेको सो कार्यक्रममा सूचिकृत भएका कृषकहरुलाई परिचयपत्र वितरण गरिने छ । त्यसैका आधारमा सेवा सुविधा उपलव्ध गराउने सरकारको योजना अनुसार बिर्तामोडमा काम अघि बढाइएको हो ।

झापाका कमल र वुद्धशान्ति गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको छ भने दमक नगरपालिका र कचनकवल गाउँपालिकामा चाँडै सुरु हुने कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । बिर्तामोडका २ वटा वडामा आगामी असार १५ गतेसम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताएकी छन् ।

कृषिज्ञान केन्द्र झापाका बागबानी विकास अधिकृत तथा कार्यक्रमका फोकल पर्सन अंकित भट्टराईले तालिमको सहजीकरण गरेका थिए । नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेको तालिम शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *