इन्डक्सन चुल्हो जनतालाई ललिपपः सांसद लिङ्देन
Published:
by .झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देनले अहिलेको बजेटले जनताको जीवनमा परिवर्तन गर्न नसक्ने बताएका छन् । यो बजेट देशमा अहिले देखिएको आर्थिक संकट तथा मूल्यवृद्धिलाई रोक्नेतर्फ उन्मुख नरहेको लिङ्देनको दावी छ ।
‘बजेट केवल निर्वाचन लक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर यो बजेट ल्याइएको छ,’ आर्थिक वर्ष २०७९÷८० को बजेट माथिको छलफलमा आज बुधबार भाग लिँदै सांसद लिङ्देनले भने, ‘बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरु के हन्, कहीँ पनि स्पष्ट छैन ।’ विगतका बजेटहरु झैँ यति आम्दानी हुन्छ होला, यति अनुदान पाइन्छ होला, यति ऋण लिइन्छ होला भन्ने अनुमानका भरमा बजेट बनाइएको उनको जिकिर छ ।
सरकारले बिना कुनै पूर्वतयारी कमिसनका लागि मात्र इन्डक्सन चुल्होको विषय बजेटमा समावेश गरेको लिङ्देनको आरोप छ । ‘इन्डक्सन चुल्हो बाँड्ने त गरीबलाई होला नि ! इन्डक्सन चलाउनका लागि त्यही प्रकारको वायरिङ चाहिन्छ । इन्डक्सन र वायरिङले मात्र भएन, पकाउने भाँडा पनि त्यस्तै चाहिन्छ । यी कुराहरु चाहिँ कसले दिन्छ ?’ लिङ्देनले प्रश्न गर्दै भनेका छन्, ‘अरु कुरा जेसुकै होस्, इन्डक्सन चुल्हो खरिद गर्ने र कमिसन लिइहाल्ने भन्ने कुरा प्रष्ट देखिन्छ, यो कसैले छल्दा छलिने कुरा होइन । यो सबै चुनाव लक्षित ललिपप मात्र हो ।’
देशलाई अग्रगतिमा लानुको साटो परम्परागत ढंगले बजेट वितरण गर्ने, कमिशन लिने र चुनावका लागि खर्च जुटाउने कार्यमा सरकार लागिपरेकोतर्फ लिङ्देनले संकेत गरे । बजेट बनाउनु अघि सरकारले केही कम्पनी तथा उद्योगहरुसँग डिल गरेको लिङ्देनको आरोप छ । बजेट निर्माण अघि ती उद्योग र कम्पनीसँग अग्रिम समझदारी भइसकेको उनले दाबी गरे ।
हचुवाका भरमा बिना कुनै तयारी हेटौँडा कपडा उद्योगबाट उत्पादित लुगाको विषय बजेटमा उल्लेख गरिएको उनको आरोप छ । हेटौँडा कपडा उद्योगबाट उत्पादित लुगाहरु अब सबैले लगाउनुपर्ने भन्ने बुँदा सुन्दा राम्रै लागे पनि उद्योग कहिले चल्ने, कपडा उत्पादन कहिले हुने, उद्योग चलाउने संयन्त्र के हो भन्ने विषय सरकारलाई नै थाहा नभएको लिङ्देनले बताए ।
सदा झैँ राष्ट्रिय पोशाकमा सजिएर संसदमा उभिएका लिङ्देनले भने, ‘मैले अहिले शीरदेखि पाउसम्म नेपाली उत्पादन लगाएर आएको छु, हेटौँडा उद्योगले उत्पादन गरेपछि मात्र होइन, अहिले नै सबैले लगाउने भन्ने व्यवस्था गरौँ न बरु ।’ मुलुकमा कैयौँ स्वदेशी कपडा तथा जुत्ता उद्योगहरु रहेकाले तिनलाई प्रोत्साहन गरिनुपर्ने उनको तर्क छ । उद्योग कहिले चल्ने, कहिले उत्पादन हुने टुंगो नभई हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने कुरा बजेटमा अनिवार्य गरिएकोमा उनले विमति जनाए ।
बजेटमा सबैभन्दा बढी भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरा हुनुपर्ने भए पनि कतै उल्लेख नभएको भन्दै लिङ्देनले आपत्ति जनाए । वैदशिक रोजगारीमा जाने युवालाई बजेटले केही गर्न नसकेको उनको भनाई छ । देशभित्र ठूलो संख्यामा रहेका युवा पनि सीमापारि स्थापित लागुऔँषध कारोबार केन्द्रको शिकार भइरहेको उनले बताए । ‘ती लागुऔषध कारोबार केन्द्र हाम्रा युवालाई लक्षित गरी स्थापना भएका छन् । तर, त्यसतर्फ यो बजेटको ध्यान गएको छैन,’ उनले भने ।
बजेट परम्पराभन्दा माथि उठ्न नसकेको आरोप लगाउँदै सांसद लिङ्देनले यो कार्यान्वयनको कुनै सम्भावना नरहेको दाबी गरे । ‘यो बजेट कार्यान्वयनको बेला आउँदासम्ममा अर्को निर्वाचन आउँछ, त्यसपछि अर्को सरकार बनिसकेको हुन्छ, यो बजेट त बहसका लागि मात्रै हो,’ लिङ्देनले भने । बजेटका कमी कमजोरी तथा भ्रष्टाचारका कुरा उठाउँदा सरकारले जहिल्यै पनि टारेर जवाफ दिने कुरा सुखद नभएको लिङ्देनले बताए ।
Comments