झापाका १३ पालिकामा कार्यपालिका गठन, जिसस यसै साता गठन हुने
Published:
by .झापा । स्थानीय तह निर्वाचनअन्तर्गत झापा जिल्लाका १३ वटा पालिकामा कार्यपालिकाले पूर्णता पाएका छन् । अब दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ ।
शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा निर्वाचन हुन बाँकी रहेकोले कार्यपालिका गठन भइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत गणेश पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार मेचीनगर, बिर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर र दमक नगरपालिकामा निर्वाचन भइसकेको छ । त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ ।
अधिकृत पाण्डेका अनुसार भद्रपुर नगरपालिकामा आज निर्वाचन भएको छ । पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच महिला सदस्य निर्वाचित भएका छन् । कार्यपालिका गठन हुन बाँकी रहेका पालिकाहरुमा यसैसाता निर्वाचन गरिसकिने उनको भनाइ छ ।
यसैगरी जिल्ला समन्वय समितिको निर्वाचन पनि जेठभित्रै भइसक्ने बताइएको छ । समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले भाग लिनेछन् । वैशाख ३० गते भएको निर्वाचनबाट झापाका पालिकाहरुमा नेकपा एमालेबाट नगरप्रमुख/अध्यक्ष सात र उपप्रमुखउपाध्यक्ष १० गरी १७ जना निर्वाचित भएका छन ।
यस्तै नेपाली कांग्रेसबाट छ प्रमुख/अध्यक्ष र तीन र राप्रपाबाट दुई प्रमुख/अध्यक्ष र एक उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको नेतृत्व बनाउन झापामा एमाले एक्लैको बहुमत पुग्ने निर्वाचितहरूको तथ्याङ्कले देखाएको छ ।
Comments