साकेला सिलि समापन कार्यक्रममा सामाजिक विकास मन्त्री राई शनिबार झापा आउदै
Published:
by .दमक । किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाको आयोजनामा हुने साकेला सिलि समापन कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई २१ गते शनिबार झापा आउने भएका छन् ।
किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए अनुसार कमल गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको सितापुरी साकेला चौक उत्तर जिल्ला साकेला थानमा हुने कार्यक्रममा मन्त्री राई सहभागी हुनेछन् । कार्यक्रमको तयारी भइरहेको साकेला समापान समारोह व्यवस्थापन समितिका संयोजक जंगबहादुर राईले बताए ।
साकेला उभौलीको अवसरमा पारेर झापा जिल्लाभर विभिन्न साकेला थान माङहिमहरुमा साकेला सिलि मनाउँदै जिल्ला साकेला थानमा समापन गर्दै आएको छ । कोरोना भाइरसका कारण गत २ वर्ष साकेला उभौली साकेला थानमा सामान्य पूजा गरेर मात्र मनाइएको किरात राई यायोक्खा केन्द्रीय सदस्य सुशिल राईले बताए । यसवर्ष भने हर्षउल्लासका साथ भव्यरुपमा सम्पन्न गर्न तयारी भइरहेको राईले बताए ।
साकेला सिलि समापन कार्यक्रममा झापा जिल्लाभरका गाउँ समिति, नगर समिति, वडा समिति तथा साकेला सिलि समूहहरु साथै इलाम, मोरङ र भारतको बागडोग्राबाट समेत साकेला टोली सहभागी हुने जनाइएको छ ।
Comments